
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूूला राजनीतिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चाताप गर्नुपर्ने सिवाय केही नहुने दाबी गर्नुभएको हो ।
कांग्रेस, एमाले र माओवादीले पटक पटक देश सरकारको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई उनीहरुले सदुपयोग गर्न नसकेको उहाँको आरोप छ ।
देशका प्रमुख राजनीतिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौतीसमेत दिनुभएको छ । उहाँले यस्ता राजनीतिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई थप बर्बादीको दिशातर्फ धकेल्ने काम हुने ठोकुवा गर्नुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिएको गर्दा उहाँले राप्रपाका उम्मेद्वारलाई जिताउन अपिल समेत गर्नुभएको छ । राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागी अहित हुने कुनै पनि काम नगर्ने बताउँदै राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एमसीसीतर्फ ईकिंत गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलका नेतृत्वको केटाकेटीपनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्रहरु रणनीतिक रुपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार जना बढी राप्रपामा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्