१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घाम लागेर जमिन तात्नुअघि भ्रमणमा ननिस्किन चिकित्सकहरुको सुझाव


11.011k
Shares

काठमाडौं । केही दिनदेखि देशभरको मौसममा परिवर्तन आएको छ । प्रदुषित हावा वायुमण्डमा थुप्रिएकाले प्रदूषणको स्तर उच्च देखिएको छ ।

वर्ल्ड एयर क्वालिटीको प्रतिवदेन अनुसार दुई दिनयता काठमाडौं विश्वकै प्रदुषित सहरमध्ये पहिलो स्थानमा रहेको छ । अघिल्लो एक साता नेपाल विश्वकै १० औं प्रदुषित मुलुक र राजधानी काठमाडौं छैटौं प्रदुषित सहरमा परेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै दिनदेखि वर्षा नभएको र प्रदुषणको स्तर जोखिममा पुगेका कारण आकाश धुम्मिएको र तुवाँलो लागेको हो । त्यसैगरी भिजिविलिटी कम हुँदा उडान अवतरणमा पनि समस्या देखिएको मौसमविदहरुले जनाएका छन् ।

मौसममा आएको परिवर्तनका कारण स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने चिकित्सकहरु बताउँछन् । तु्ँवालो फोक्सोका लागि बढी घातक रहेको भन्दै घाम लागेर जमिन तात्नुअघि प्रात भ्रमणमा ननिस्किन चिकित्सकहरुले सुझाएका छन् । अहिले हानिकारक बनेका धुलोका कण र धुँवा मिश्रीत तुवाँलोले दमका रोगी, बुढापाका, बालबालिका र कोभिडका कारण फोक्सोमा जटिलता खेपेकाहरु थप मारमा पर्न सक्ने चिकित्सकहरुले जनाएका छन् । प्रदुषित हावा वायुमण्डलमा रहेकाले भिजीविलिटी कम हुने सम्भावना अझै केहि दिन यथावतै रहने भएकाले सुरक्षित रहन महाशाखाले सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । कोभिड महामारीको प्रभाव केही कम हुँदै गएपनि वातावरण प्रदुषणका कारण मौसममा आएको परिवर्तनको नकरात्मक असर पर्नु अगावै सचेत हुन जरुरी छ ।