
काठमाडौं । पर्सा र सर्लाहीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा आज (बिहिबार) दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किंदा दुवै मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ललनप्रसाद कुर्मी र २९ वर्षीय हसिन्दर सहनी रहेका छन् । घाइते हुनेमा रोजदिन मियाँ, सुपेन राउत र रंजित महतो रहेका छन् । त्यस्तै, सर्लाहीको बागमती नगरपालिका ७ राजघाटमा क्रेनको ठक्करबाट १७ वर्षकी छात्रा सुमित्रा परियारको मृत्यु भएको छ ।
स्थानीय नव जन जागरण माविकी छात्रा परियारको नम्बर बिनाको क्रेनले स्थानीय नेमी चोक नजिक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा ११ मा अध्ययनरत छात्रा विद्यालयबाट साइकलमा घर फर्किँदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले क्रेनमा आगो लगाएका छन् । आगोले जलेर क्रेनको आधाभन्दा बढी भाग क्षतिग्रस्त भएको छ । टाउकोमा सामान्य ठक्कर लागेर ढलेकी परियारर्लाइ क्रेनका चालकले पुनः अर्को पटक ठक्कर दिएपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीको दावी छ ।
दुर्घटना हुँदा क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्