२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चितवनमा पर्यटकको संख्या बढ्दै


325
Shares

काठमाडौं । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सन्तोषजनक रुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको संख्याभन्दा चालूआर्थिक वर्षको ८ महिनामा आएका पर्यटकको संख्या बढेको छ ।

यस अविधिमा निकुञ्जमा १ लाख ८ हजार २ सय ५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आर्थिक वर्ष २०७७-०७८ मा घुम्न आउने पर्यटकको संख्या ९२ हजार २ सय ९ मात्रै थियो । त्यस्तै आर्थिक वर्ष २०७६-०७७ मा एक लाख ८२ हजार ४ सय ३५ व्यक्तिले भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालूआर्थिक वर्षको पहिलो ८ महिनामा विदेशी पाँच हजार ३ सय ९४ मध्ये दुई हजार ५ सय ४० महिला र २ हजार ८ सय ५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका ४ हजार ८ सय ६५ जना थिए । आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य मात्रामा रहेको छ ।

यो ८ महिनाको अवधिमा ९७ हजार ८ सय ९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८ सय ८८ पुरुष रहेका र गत वर्ष निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६ सय ६७ आन्तरिक पर्यटक रहेका उहाँले जानकारी दिनुभयो ।

पछिल्लो ८ महिनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २ सय ५४ पर्यटकमध्ये ५३ हजार ८ सय ९ महिला र ५४ हजार ४ सय ४५ पुरुष रहेका छन् । पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुंगा, पैदल सफारी गर्ने गर्छन् ।

दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ जनावर, चराचुरुंगी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।