१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामको करसोङ पर्यटकका लागि औपचारिक रुपमा खुल्ला


117
Shares

इलाम । इलामको करसोङ पदमार्ग पर्यटकका लागि खुल्ला गरिएको छ ।

झापाको बाहुनडाँगीबाट इलामको प्रसिद्ध धार्मिस्थल पाथिभरा हाँसपोखरी जोड्ने २९ किलोमिटर लामो पदमार्गमध्ये हाँसपोखरी झण्डिडाँडा क्षेत्रको १३ किलोमिटर पदमार्ग औपचारिक रुपमा पर्यटकका लागि खुल्ला गरिएको हो ।

घना जंगल र ग्रामीण बस्तीलाई छिचोल्दै झापा र इलाम जोड्ने करसोङ पदमार्ग पर्यटकका लागि खुल्ला भएको हो । तराईको गर्मी छल्दै इलामको चिसो मौसममा रमाउन चाहनेहरुका लागि यो पदमार्ग प्रयोग गरेर अब सजिलै झापा इलाम ओहोरदोहोर गर्न सकिने भएको छ ।

हरियो जगंल र जगंलमा रहेका चराचुरुङ्गीहरुको आवाजमा रमाउँदै, ग्रामीण बस्ती, मेची नदी, नेपाल र भारतका सीमावर्ती क्षेत्रको दृश्यावलोकन गर्दै पदमार्गबाट धार्मिकस्थल पाथिभरासम्म पुगिनेछ ।

रोङ गाउँपालिकाको महत्वकांक्षी योजनाका रुपमा थालनी भएको पदमार्गलाई प्रचारप्रसार गरी इलाम आउने पर्यटकको पहिलो रोजाइमा पार्न सके इलामको पर्यटकीय प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने स्थानीयको विश्वास छ ।

प्राचीन शासक लेप्चा जातीको बसोबास रहेको इलामको रोङ गाउँपालिकामा पर्ने यो पदमार्गको करसोङ् मार्ग नामाकरण गरिएको छ । लाप्चा भाषामा करसोङ्को अर्थ बहुमूल्य फुल सुनाखरी बुझिन्छ ।

डाँडैडाँडा यात्रा गर्न सकिने २९ किलोमिटर लामो पदमार्गको अहिले १३ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । पदमार्ग झापाको मेची नगरपालिकाको निन्दा सिरानबाट मेची नदी हुँदै इलाामको रोङ गाउँपालिकाका हाँसपोखरीसम्म जोडिने पदमार्गमा थप पुर्वाधार निर्माण गरिने गाउँपालिका अध्यक्ष समशेर राईले बताउनुभयो ।

करसोङ पदमार्ग यात्राका क्रममा हाँसपोखरी, चिण्डेपानी, गुगलडाँडा, देउरालीडाँडा, झण्डीडाँडा र सलकपूर लगायत १५ वटा पर्यटकीय क्षेत्रको अध्ययन र अवलोकन गर्न सकिनेछ ।

सुनाखरीको अध्ययन गरिने पदमार्गको यात्राक्रममा सूर्योदय, सूर्यास्त र कृषि पर्यटनमा समेत रमाउन सकिनेछ ।