
काठमाडौं । नयाँ बर्ष २०७९ सालको अवसरमा काठमाडौंको दरबारमार्गमा महोत्सव हुने भएको छ ।
कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा बैशाख ३ गते शनिबारका दिन महोत्सवको १५ औं संस्करण आयोजना गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मलेन गरी महासंघका अध्यक्ष शेखर गोल्छाले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
महोत्सवमा करिब ६० वटा स्टल रहने र महोत्सव क्षेत्रमा बालबालिका लागि छुट्टै किडस् जोनको व्यवस्था गरिएको समेत जानकारी दिनुभयो । नेपाली नयाँ बर्षको अवसरमा हरेक बर्ष दरबारमार्ग क्षेत्रमा महोत्सव आयोजना गरिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्