२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


अस्तित्व गुमाएकाे यंगाः हितिले पुनर्जीवन पाउँदै


182
Shares

काठमाडौं । अस्तित्व गुमाएकाे यंगाः हितिले पुनर्जीवन पाउँने भएकाे छ ।

हिति सभ्यता हाम्रो पूर्खाको प्राचिन वैज्ञानिक ज्ञानको उपज पनि हो । यसैबाट हामीले शुद्ध खानेपानीको उपभोग र भूमिगत पानी प्रणालीलाई व्यवस्थित गर्न सकेको थियाे । प्राचीनकालमा दक्षिण कोलियग्राम, हाल काठमाडौंस्थित यंगालमा रहेको यंगाः हितिले पनि आफ्नो पुरानो गौरव फर्काउन खोजिरहेको छ ।

कुनै बेला कलकल पानी बग्ने यो लिच्छवीकालिन यंगाः हिति अहिले सुकेको छ । प्राचिनकालमा दक्षिण कोलियग्राम यंगालमा खुल्ला रुपमा रहेको हिति अहिले चारै तिरबाट अग्ला भवनले घेरिएर खुम्चिएको छ ।

यहाँ करिब १४ सय वर्ष पुराना हितिहरु छन् । दुई वटा १३ सय ८० वर्ष पुरानो शिलालेख पानीमा डुबेको अवस्थामा रहेको छ । साथै अन्य देव देवीको मूर्तिहरु पनि यस्तै अवस्थामा रहेको छ । स्थानीयले अतिक्रमणमा पर्नबाट जोगाएर २०६५ सालतिर हितिको जिर्णोद्धार गरे पनि निकास पत्ता नलाग्दा हिति क्षेत्र पोखरीमा परिणत हुँदै आएको छ ।

स्थानीयले समय समयमा सरसफाई गरेपनि हितिलाई पुरानै पानी बग्ने स्वरुपमा फर्काउन सकिएको छैन । केही दिन अघिमात्र हिति परिसरमा नयाँ संरचना समेत फेला परेको थियो । २१ वडा कार्यालयले पुरातत्व विभागको समन्वयमा उत्खनन् कार्य पनि गरि रहेको छ ।

जहाँ पुरातात्विक ऐतिहासिक सामाग्री पाउने सम्भावना रहेको विश्वास गरिएको छ । पानीको बाहिरिने निकासको समेत खोजी भइरहेको छ । स्थानीय समाजसेवी अमृत नारायण मानन्धर हिति लिच्छवीकालिन भएकाले हिति सभ्यतालाइ बचाउन यसको संरक्षण गर्नु पर्ने बताउनु हुन्छ । यो नेपालको मौलिक पहिचान हो जुन विश्व समुदायमा देखाउन लायक छ, उहाँ भन्नुहुन्छ ।

वडा कार्यालयले पनि हिति संरक्षणको प्रयास गरि रहेको छ । सम्पदा संरक्षणमा राजनैतिकरण नगर्न उहाँको आग्रह छ ।
हाम्रा पूर्खाले हजारौं वर्षदेखि बचाएर राखेको संम्पदाको संरक्षण गर्नु वर्तमान पुस्ताको कर्तव्य पनि हो ।

अन्यथा भावी पुस्ताले हामीलाइ धिक्कार्ने छ । त्यसैले चर्को क्रान्तिकारी बन्नु भन्दा सम्वेदनशील भएर यस्ता मौलिक सम्पदाको संरक्षण गर्न जरुरी छ ।