
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट भोलि शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुनेभएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्नुहुने भएको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो । त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशिष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।
प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।
रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भईसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानियबासीहरुलाई यातायातको सहजता आउनुका साथै उनीहरुलाई आवतबापत गर्न निकै सुविधा हुने बताउनुभयो ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ । यता, रेल्वे संचालन र उदघाटन हुन लागेपछि स्थानियबासीहरुलाई यातायातामा सहजता आउने स्थानीय अवधेस कामतको कथन रहेको छ ।
१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो । त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा बग्गीसहित बाष्प इन्जिन सहयोग गरेको थियो भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो । अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । सोही अनुसारको तयारी गरिएको छ ।
शनिबार नेपाल रेलवेको उद्घाटन भएपछि त्यसको आइतबारदेखि दैनिक रुपमा दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताउनुभयो । बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै, जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताउनुभयो ।
जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताउनुभयो ।
गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । रेल्वे स्टेशनमा सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । उद्घाटनस्थल जयनगर र जनकपुरमा समेत भव्य रुपमा मण्डलको निर्माण गरिएको छ । रेल्वेका महाप्रबन्धक झाले दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरे लगत्तै रेल्वे संचालनमा आउने छन ।
प्रतिक्रिया दिनुहोस्