
काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले आदीवासी, जनजातीको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदीवासी जनजातीको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदीवासी, जनजातीको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरू आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताउनुभयो ।
घर्तीले स्थानीय र प्रदेश सरकारबाट आदीवासी जनजातीका नाममा विनियोजित बजेट अन्य शीर्षकमा खर्च गरेकोप्रति समेत आपत्ति जनाउनुभयो । आदीवासी र जनजातीको विकासका लागि छुट्याइएको बजेट सदुपयोग गर्न सरकारसँग उहाँको माग छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष घर्तीले आदीवासी जनजातीको उत्थान, सशक्तिकरण तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण प्रवर्द्धनको लागि विशेष कार्ययोजना ल्याइने जनाउनुभयो ।
अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत आदिवासी जनजातीको संरक्षण, सांस्कृतिक प्रवर्द्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने पनि उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सबै नेपालीले समान अवसर पाउनुपर्ने बताउनुभयो । सबैले सबैको अस्तित्व स्वीकार्दै बलियो समाजको आधारस्तम्भ निर्माणकाे आवश्यकता आजकाे आवश्यकता रहेकाे उहाँकाे भनाइ छ ।
अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा परिणाममुखी काम गरेर देखाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्