२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


‘पशु मर्‍यो, बाली बिग्रियो, बीमा रकम पाइएन भन्ने गुनासा आउनुभएन’


533
Shares

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।

बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।’

बीमाको कारोबार र जोखिमसँगै दाबी पनि बढेको भन्दै अध्यक्ष सिलवालले छिटो प्रक्रिया पूरा गरी दाबी गुनासो नआउनेगरी काम गर्न आग्रह गर्नुभयो ।

‘पशु मर्‍यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनुभएन,’ उहाँले भन्नुभयो, ‘पीडितले समयमा नै बीमा रकम पाउनुपर्‍यो, कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नुहोस् ।’

आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सबभन्दा अगाडि हुने दाबी गर्दै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति ल्याउन लागिएको जानकारी दिनुभयो ।

‘देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकून् र बीमा जोखिमको बेलाको साथी बनोस् भन्ने उदेश्यले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउँदैछ’, उहाँले भन्नुभयो, ‘त्यसैअनुसार प्रदेश तथा स्थानीय तहमा बीमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको छ ।’

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्र रूपले क्षति मूल्याङ्कन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले बीमा सर्भेयरले क्षति मूल्याकनको पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने उल्लेख गर्नुहुँदै बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी पनि भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभयो ।

बीमा समितिका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर सम्बन्धी व्यवस्था बारेको जानकारीमूलक प्रस्तुति गर्नुभएको कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र बीमा सर्भेयर संघ, नेपालका अध्यक्ष मोहनपुरूष ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।