
काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा पपुवा न्यूगिनी (पिएनजी)ले पहिलो जित निकालेको छ ।
मलेसियालाई ८ विकेटले पराजित गर्दै पपुवा न्यूगिनीले अघिल्लो खेलको बदला लिएको हो । मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
उसका लागि टोनी उराले अविजित ८६ रन बनाए । कप्तान असद भालाले अविजित ७४ रन बनाउँदा चार्ल्स अमिनीले २८ रन जोडे । ओपनर लेग सियाका पहिलो बलमै आउट भए ।
मलेसियाका मोहम्मद वफिक र स्याज्रुल एडरसले एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो ।
उसका लागि सैद अजिजले ६४, अहमद फैजले ६३, जुबैदी जुल्किफ्लेले ४६ रन बनाए । भिरान्दीप सिंहले १० रन बनाउँदा मोहम्मद अमिरले ८ रन बनाए ।
पिएनजीका कबुआ मोरियाले चार तथा रिले हेकुरे र चाड सोपरले एक–एक विकेट लिए ।
जितसँगै पिएनजी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने मलेसिया तेस्रोमा झरेको छ । शनिबार नेपाल र मलेसियाको खेलपछि मात्र फाइनल समीकरण पूरा हुनेछ ।
शनिबार नेपाल पराजित भएमा मलेसिया फाइनलमा पुग्नेछ भने मलेसिया पराजित भएमा पिएनजीले फाइनलमा नेपालसँग भिड्नेछ ।
तीन खेलमा जित निकालेकाे नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्