
काठमाडौं । सरकारले क्लिनफीड लागू गरेको दुई वर्ष बितिसक्दा समेत नेपालको दक्षिणी सीमा क्षेत्रमा अझै पनि अवैध डीटीएच(डाइरेक्ट टु होम) खुलमखुल्ला बिक्रीवितरण भइरहेको छ ।
अवैध रूपमा भैरहेको यस्तो बिक्री बाट सरकारले करोडौं नोक्सानी बेहोर्दै आए पनि रोक्न कुनै चासो देखाएको पाइँदैन । विशेषगरी तराईका जिल्लाहरूमा भारतीय अवैध डीटीएच निर्वाध रूपमा सञ्चालन भरहेको देखिन्छ ।
नेपालभर करिब ५ देखि ७ लाख पे र नन पे भारतीय डीटीएच सञ्चालन भइरहेको स्वदेशी सेवाप्रदायकहरूको अनुमान छ ।
यस्ता डीटीएचमा विज्ञापनसहित फ्रि च्यानलहरू सबै निर्वाध आउने भएकाले क्लिफीड लागू भएपछि अवैध डीटीएचको बिक्री अझ बढेको उनीहरूको बुझाइ छ । यसबाट एकातिर मुलुकको पूँजी बाहिरिएको छ भने भने अर्कौ तर्फ राज्यलाई कर बापत करोडौं नोक्सान भइरहेको छ ।
साथै अवैध डीटीएचमा नेपाली च्यानल नहुने भएकाले उपभोक्ता नेपाली सूचनाबाट बञ्चित हुनुका साथै भाषा र संस्कृतिमा समेत अतिक्रमण भइरहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउनुहुन्छ ।
डीटीएचका उपकरणहरू भारतीय सीमाबाट खुलेआम भित्रिने गरे पनि भन्सार प्रशासनले नियन्त्रणको प्रयास त के सरकारले यसबारे चासो नै नदिएको नेपाली सेवा प्रदायकहरूको गुनासो छ ।
सेटअप बक्स, एन्टेनाको लागतदेखि मासिक शुल्क समेत अवैध रूपमा भारत गइरहेको र नेपाल सरकारले रोयल्टी र मूल्य अभिवृद्धि कर बापत ठूलो रकम समेत गुमाएको छ ।
स्वदेशी व्यवसायीहरुले पाइलैपिच्छे कर तिर्ने तर एक रुपैयाँ पनि राजश्व नतिरिकन अवैध व्यापार भइरहँदा पनि सरकार मुकदर्शक भएको व्यवसायीहरूको गुनासो छ ।
तराईमा भारतीय अवैध डीटीएचको प्रभाव कम गर्न आफूहरूले परेको मूल्यभन्दा पनि कममा सेटअप बक्स र मासिक शुल्क समेत घटाएर विभिन्न तराई प्याकेज ल्याएको डिसहोमका बिक्री प्रमुख रमेश सापकोटाको भनाइ छ ।
कतिपय अवस्थामा नेपाली डीटीएच भन्दा भारतीय डीटीएच महँगो समेत हुने गरको व्यवसायीहरूको भनाइ छ । नेपालीहरूले जानकारी नपाएर पनि भारतीय सेवा लिइरहेको बताइन्छ । यसैले नेपाली डीटीएच हेर्ने बाताबरण बनाउन सरकारले पनि ठोस प्रयास गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्