
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ ।
द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ । यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्त रुपमा सम्बोधन गर्ने बताइएको छ ।
चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर शुक्रबार भारत भ्रमणमा जानु भएका प्रधानमन्त्री देउवा भोलि आइतबार बनारस भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्