१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपुरमा उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरियो


208
Shares

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरिएको छ ।

याे उद्योग सञ्चालनमा आएसँगै दुई हजार भन्दा बढी स्थानीयबासीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । साथै यहाँका महिलाले समेत काम गर्ने अवसर पाएका छन् ।

कोरोनाका कारण उद्योगहरु बन्द हुँदै गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । तर नवलपुरको देवचुली नगरपालिकामा रहेको विनोद चौधरीको चौधरी उद्योग सञ्चालनले गाउँको मुहार नै फेरिएको छ । उद्योग सञ्चालन नहुँदा बेरोजगारी, महिला हिंसा लगायतका धेरै समस्याहरु रहेको थियो तर स्थानीयले रोजगारी पाएपछि यस्ता घटना रोकिँदै गएका छन् ।

२०५२ सालमा विनोद चौधरीको पूर्ण लगानीमा स्थापना भएको यस उद्योगमा दुई हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिले रोजगारी नहुँदा विदेश गएका धेरै युवाहरुले अहिले आफ्नै क्षेत्रको ठुलो उद्योगमा रोजगारी पाएपछि सजिलै घरखर्च चलाएका छन् ।

अधिकांश मजदुरहरुले आफ्ना बालबालिकालाई उच्च शिक्षा पढाउन सक्ने भएका छन् । विशेष गरि उद्योग स्थापनाले महिला बढी लाभान्वित भएका छन् । आफै कमाउन सक्ने भएपछि श्रीमानको भरपर्न नपरेको उनीहरुको भनाइ छ । चुलोचौकामा मात्र सिमित रहनुुपर्ने बाध्यता थियो भने अहिले बाह्य विषयको पनि ज्ञान लिन सक्ने भएको स्थानीय लिलावती वाग्लेको भनाइ छ ।

नवलपुरको दुम्कौलीमा रहेको चौधरी ग्रुपको उद्योगमा देवचुली नगरपालिकाका ७२ प्रतिशत र नवलपुर जिल्ला भरिका ८६ प्रतिशत स्थानीयले काम गरिरहेको चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख रामकाजी सिटौँलाले बताउनुभयो । चौधरी उद्योगले नेपाल सरकारलाई गत वर्ष मासिक ५८ करोड र वार्षिक ७ अर्ब भन्दा बढी राजश्व तिरेको उद्योगका प्रशासन प्रमुख सिटौलाको भनाइ छ ।

उद्योगले स्थानीयलाई रोजगारीका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु समेत गरेको छ । समाजका विकास निर्माण र शिक्षा क्षेत्रका लागि मात्र वार्षिक ६० लाख भन्दा बढी खर्चदै आएको छ । राज्यले चौधरी उद्योग जस्ता उद्योग सञ्चालनमा जोड दिनुपर्छ ।

उद्योग क्षेत्रमा लगानी विस्तारगरि दक्षजनशक्तिलाई देशमै रोजगारीको वातावरण सिर्जना गरिदिने हो भने धेरै युवाहरु आफ्नै देशमा रमाउने र देश विकासमा योगदान पुर्याउने थिए।