२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा पुरुषभन्दा महिला मतदाता संख्या बढी


130
Shares

भक्तपुर । निर्वाचन आयोगले चैत १३ गते सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, आगामी स्थानीय निर्वाचनमा देशभर महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् ।

आयोगका अनुसार, देशभर पुरुषको संख्या ८९ लाख ९२ हजार १० जना, महिलाको संख्या ८७ लाख ४१ हजार ५३० जना र अन्य १८३ जना गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

तर, भक्तपुरमा भने पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा पुरुषको संख्या ९२ हजार २५६ जना, महिलाको संख्या ९७ हजार ३१४ जना र अन्य ५ जना गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता रहेका छन् ।

भक्तपुरका चार वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेको कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकामा २७ हजार ६५६ पुरुष र २९ हजार ६१४ महिला छन् । यसपछि सूर्यविनायक नगरपालिकामा रहेको छ । सूर्यविनायक नगरपालिकामा २२ हजार ९८० पुरुष, २४ हजार ३८५ महिला र तेस्रो लिंगी २ जना गरी कूल ४७ हजार ३६७ मतदाता छन् ।

यसैगरी, चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष र २२ हजार ७ महिला गरी कुल ४३ हजार १०५ मतदाता छन् भने मध्यपुर थिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, ३१ हजार ३०८ महिला र तेस्रो लिंगी ३ गरी कुल ४१ हजार ८४२ मतदाता छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी बिसीका अनुसार भक्तपुरमा ७७ वटा मतदान स्थलमा २१९ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा केन्द्र र मतदान स्थल निर्धारण गरेको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकाका लागि २१ मतदान स्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदान स्थल र ५८ मतदान केन्द्र र मध्यपुर थिमि नगरपालिकामा १७ मतदान स्थल र ४६ मतदान केन्द्र तोकिएका छन् ।