
चितवन । आर्थिक अभावले निर्माण कार्य नै ठप्प रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको काम तत्काल सुरु गर्न स्थानीयले माग गरेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले काम छाडेपछि अलपत्र रंगशालाका संरचना जिर्ण बन्दै गएकाछन् । रंगशालाको काम अपूरो नछोड्न भन्दै तत्काल सरकारले निर्माण गर्न स्थानीयले माग गर्दै आएका छन् ।
सरासर काम भएको भए भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा यतिबेला ठूलठूला प्रतियोगिता भई रहेका हुने थिए । रंगशालाले कमलको फूल आकार लिइसकेर ७७ वटै जिल्ला झल्काउने कक्षले भरिभराउ हुने थियो ।
३० हजार दर्शक अट्ने र मुख्य क्रिक्रेटसहित २२ विद्याका खेल खेल्न मिल्नेगरी ३ अर्ब लागतमा रंगशाला निर्माण गर्ने भनिएपनि गत साउनदेखि काम ठप्प छ । रंगशाला नजिकैका स्थानीयले तत्काल काम सुरु गरेर पूर्णता दिन माग गरेका छन् ।
रंगशालामा ५३ करोड बराबरको काम भएको र १६ करोड भन्दा बढी ऋण तिर्न बाँकी रहेको बताईएको छ । तर, फाउण्डेशनले अहिलेसम्म सत्यतथ्य सार्वजनिक गरेको भने छैन ।
आर्थिक पारदर्शीता नभएको भन्दै अख्तियारमा उजुरी समेत परेको छ । कुनै समय दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दै आएकोमा पछिल्लो पटक दैनिक ३०–३५ जनाले मात्रै काम गर्दै आएका थिए । अहिले त्यो पनि बन्द छ । सरकारले यसलाई अलपत्र छोड्न नहुने र पूर्णता दिनुपर्छ भन्दै स्थानीयले आवाज उठाउँदै आएका छन् ।
भरतपुर महानगरपालिकासँग समन्वय गरेर फाउण्डेशनले काम गरेको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट प्राप्त बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदै थियो । महानगर प्रमुख रेनु दाहालले भने छिट्टै खुसीको खवर सुन्न पाउने र अलपत्र रंगशालाको निर्माण सुरु गर्न संघ सरकारलाई गुहारेको बताउनुहुन्छ ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा यो रंगशालाको निर्माण चर्चा पनि चुलीदै गएको छ । अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने भयो भन्दा स्थानीयले थप समृद्धि र विकासको अपेक्षा राख्नु स्वभाविक हो ।
तर एकाएक काम ठप्प भएर रोकिदा र सरकारले चासो नदिँदा पुन चुनावी एजेण्डा बनाएर जनता झुक्याउने खेल हुने त होइन स्थानीयकाे आंशका छ ।
प्रतिक्रिया दिनुहोस्