२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादीले जितेको ठाउँमा मात्र राम्रो काम भएको प्रचण्डको दाबी


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभयो । उहाँले अन्य सयौं स्थानीय तहमा कामै नभएको जिकीरसमेत गर्नुभयो ।

अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताउनुभयो । छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिका सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित भएको उहाँको दाबी छ ।

‘केही दिनअघि एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँच वटा श्रेष्ठ काम भएको मध्ये ३ वटा त माओवादी केन्द्रले जितेको मात्रै थियो,’ उहाँले भन्नुभयो, ‘अरु तेत्रो सयौं छन्, त्यहाँ चाहिँ राम्रो काम भएन भन्ने रिर्पोट आयो, भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडल छ भन्ने रिर्पोट आयो ।’

अध्यक्ष दाहालले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा मुलुकमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताउनुभयो ।

परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो पार्टीलाई रोजेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।

अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिनुभयो ।