१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रविधिको रुपान्तरण र आर्थिक समस्याका विषयमा सरकार जानकार छ : मन्त्री कार्की


91
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याका विषयमा सरकार जानकार रहेको बताउनुभएको छ ।

मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रहसमेत गर्नुभएकाे हाे। रेडियो नेपालको ७२औं वार्षिकोत्सवको अवसरमा आज (आइतबार) सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

देशका सबै भू-भागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि उहाँले बताउनुभयो । सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाइ छ ।

उहाँले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि मन्त्री कार्कीले आग्रह गर्नुभयो । मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पार्नु भयो । मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडियो नेपाललाई थप उचाईमा लैजान सरकार लागि परेको उल्लेख गर्नुभएकाे हाे ।

यसमा आवद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गर्नुभयो ।