३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


चितवनको सबै पालिकामा गठबन्धन गर्ने सहमति, महानगरको केन्द्रले टुंग्याउने


819
Shares

चितवन । संसद विघटनपछि एक भएर सत्ता गठबन्धनमा रहेका दलहरू चितवनमा पनि एकजुट भएका छन् ।

सोमबार बैठक बसेर जिल्लाका सातवटै स्थानीय तहमा मिलेर चुनाव लड्ने निर्णय गरेका छन् ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीले महानगरको उम्मेदवार केन्द्रबाटै टुंगिने र अन्य नगरपालिका, गाउँपालिकामा चाँडै अर्को बेठक बसेर भागवण्डा गर्ने जानकारी दिनुभयो ।

केन्द्रको निर्देशन अनुसारनै चितवनमा पनि सोमबार नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक बसेर सात वटै स्थानीय तहदेखि जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

कुन स्थानीय तहमा कुन दलको बलियो पकड छ सोही अनुसार भागवण्डा मिलाउने गरी पाँच दलबाट एक–एक जना प्रतिनिधि रहनेगरी एक कार्यदल समेत गठन भएको छ ।

समाजवादीले चितवनका तीन स्थानीय तह रत्ननगर, राप्ती र माडीमा पकड बलियो भएको बताउँदै आएको छ । चैत मसान्तसम्म सबै पार्टीबाट उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारप्रसारमा लाग्ने उहाँको दाबी छ ।