
काठमाडौं । उदयपुरमा विद्यालय जाँदै गरेकी १५ वर्षीया एक छात्राको हत्या भएको छ ।
बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो ।
घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।
उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।
एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।
घटनाप्रति आपत्ति जनाउँदै विद्यालयले निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेको छ । आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न विद्यालयले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्