
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का कूटनीतिक मर्यादा विपरीत एक विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी हुनुभएको छ ।
भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उहाँ सहभागी हुनुभएको हो ।
भवनको शिलान्यास मंगलबार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेका थिए ।
‘परराष्ट्रमन्त्री जस्तो व्यक्ति आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर शिलान्यास कार्यक्रममा जान हुँदैनथ्यो, यस्तो कार्यक्रममा त शिक्षामन्त्रीलाई लग्नुपर्ने थियो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘गइहाले पनि अर्को देशको कार्यवाहक राजदूतसँग शिलान्यास गर्नु हुँदैनथ्यो, कूटनीतिक मर्यादा अनुसार उहाँ त्यस्तो कार्यक्रममा सहभागी हुनुहुँदैनथ्यो ।’
सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख अनुदान सहयोगमा विद्यालय भवन निर्माण कार्य अघि बढाइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल एक हाजर एक सय विद्यार्थी अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत छात्राहरू रहेका छन् ।
सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजना सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्