
काठमाडौं । शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा आज (मंगलबार) पनि सुधार आउन सकेन ।
बजारमा मंगलबार पनि उच्च अंकको गिरावट जारी रहेको हो । उतार चढावबीच बजार परिसूचक नेप्से ४७ अंक बराबरले झरेर २४ सय ५२ मा आएर थामियो ।
कारोबार भने पछिल्ला दिनका तुलनामा सामान्य बढेर साढें २ अर्ब माथि पुग्यो । होटल तथा पर्यटन समूह बाहेक अरु सबै समूह ओरालो लागे ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय ३२ अंकको गिरावट आयो । निर्जीवन बीमा समूह पनि साँढे ३ सय अंक बराबरले ओरालो लाग्यो ।
अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ५८ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ६७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ८२ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १० कम्पनीको बढ्यो भने २ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
घटेको बजारमा पनि राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तका शेयरमा भने सकारात्मक सर्किट लाग्यो ।
प्रतिक्रिया दिनुहोस्