
काठमाडौं । नेपाली कांग्रेसले वडा तथा टोल तहसम्म निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीलाई अध्यधिक बहुमतले विजयी गराउन सबै संरचनालाइ प्रचारप्रसारमा संलग्न गराउने निर्णय गरेको हो ।
यस्तै भातृ तथा शुभेच्छुक संस्थाहरूले पनि सबै तहमा प्रचारप्रसार गर्ने निर्देशन कांग्रेसले दिएको छ । प्रचारप्रसार गर्दा विवादरहित र प्रभावकारी बनाउन ध्यान दिन पनि बैठकले आग्रह गरेको छ ।
यस्तै बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्वमा विभिन्न पाँच समितिको गठन गरेको छ ।
कांग्रेसले प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेललाई मनोनित गरेको छ ।
त्यसैगरी, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालार्ई मनोनित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्