
काठमाडौं । शेयर बजारमा बुधबार पनि वियरिष ट्रेण्ड कायमै रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले झरेर २४ सय २८ मा आएर थामियो ।
कारोबार समेत हिजोको तुलनामा थप खुम्चिएर २ अर्ब तलै सीमित रह्यो । यस दिन तीन वटा उपसमूह भने सकारात्मक रहे ।
होटल तथा पर्यटन ६२ अंकले र अन्य र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहे भने अरु सबै समूह ओरालो लागेका हुन् ।
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक बराबरको र जीवन बीमा समूहमा सय अंकको गिरावट आयो । अरु अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहेका हुन् ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको ४३ लाख ७२ हजार कित्ता शेयर जम्मा १ अर्ब ९९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसदिन १ सय ५६ कम्पनीको शेयरमूल्य ओरालो लाग्दा ३३ कम्पनीको बढ्यो भने ६ कम्पनीको स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्