
काठमाडौं । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ ।
बुधबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम विद्युत बिक्री गर्न स्वीकृति दिएको जानकारी दिनुभयो ।
मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत् अन्य देशमा समेत बिक्री गर्न सक्ने बाटो खुल्ला भएको बताउनुभयो ।
नेपालले आन्तरिक खपत पूरा गरेपछि बाँकी रहेको विद्युत् भारतीय बजारमा जाने र अरु देशमा पनि विद्युत् निर्यात गर्न सक्ने गरी बजारको ढोका खुलेको उहाँको भनाइ छ ।
अनुमति पाएसँगै दुई देशबीचको व्यापार घाटामा कमी आइ अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने मन्त्री भुसालको विश्वास छ ।
मन्त्री भुसालले मुलुकभित्र उत्पादित विद्युत् खपतको सुनिश्चिता नभएका कारण पीपीए रोकिएको पनि बताउनुभयो ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरूले भनेजस्तो उद्योगहरूमा लोेडसेडिङ नभएको दाबी गर्नुुभयो ।
तत्कालिन समयमा भारतबाट विद्युत् खरिद गर्न समस्या आएकाले कहिँकतै विद्युत कटौती भएबाहेक कुनै पनि उद्योगमा लोडसेडिङ नगरिएको दाबी जिकिर गर्नुभयो ।
ट्रान्समिसन लाइन लगायतका प्राविधिक समस्याका कारण केही उद्योगमा एक/दुई घण्टा विद्युत् गएकालाई उद्योगीहरुले १४ घण्टा लोडसेडिङ भयो भनेर हौवा पिटाइएको उहाँले दाबी गर्नुभयो । उद्योगीले राजनीति गरेको उहाँको आरोप छ ।
घिसिङले वर्तमान समस्या रुस र युक्रेनबीचको युद्धका कारण भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्