
हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।
हेटौंडामा बुधबार पत्रकार सम्मेलन गर्दै पौडेलले प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग्याउने र भरतपुरमा सञ्चालन गर्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिष्ठान प्रदेश तथा मकवानपुरको गौरवको आयोजना रहेको भन्दै उहाँले यसलाई भरतपुर लगिए ढुंगा हान्नेसमेत चेतावनी दिनुभयो । आफू नेतृत्वको सरकारले स्थापना गरेको प्रतिष्ठानलाई कमजोर बनाउने र यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै कमजोर बनाउन वर्तमान सरकार लागेको आरोपसमेत लगाउनुभयो ।
अध्याधेशमार्फत केवल राजनीतिक बेइमानी मात्र नभएर मकवानपुरका जनताप्रति अक्षम्य अपराध गरिएको उहाँको भनाइ छ ।
अस्पताललाई प्रतिष्ठानमार्फत विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरूको सेवा विस्तारलाई अगाडि बढाउँदै आईसीयू, एचडीयू, अक्सिजन प्लान्टजस्ता सेवाहरू समेत विस्तार भइरहेको पौडेलले बताउनुभयो ।
‘५० शैय्या, तीन सय शैय्या हुँदै हाल पाँच सय शैय्यामा पुग्ने क्रममा रहेको र निर्माणाधीन भवन सम्पन्न पश्चात सेवा अझ विस्तार हुने क्रममा रहेको थियो,’ उहाँले भन्नुभयो, ‘अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर पुनः रिफर अस्पतालमा झार्न तथा यस प्रतिष्ठानमा सञ्चालन भइरहेका तीनवटा विषयका कक्षाहरू भरतपुरमा सञ्चालन गर्न मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरू स्वयं लागेका छन् ।’
वर्तमान सरकारले यस्ता जनविरोधी कामलाई निरन्तरता दिइरहे त्यसको भण्डाफोर गर्दै गम्भीर रूपमा प्रतिरोध गरिने पौडेलले चेतावनी दिनुभयो । प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५/५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको निर्णय कार्यकर्ता पाल्ने योजना भएको उहाँको आरोप छ ।
प्रतिष्ठानमा प्रदेश सरकारको हालसम्म करिब १५ करोड लगानी भइसकेको र उक्त लगानी खेर जाने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश लगायत ३ वटा अध्यादेश स्वीकृतिका लागि ल्याएको थियो ।
संसदमा भएको अवरोधका कारण सरकारलाई तत्काल काम गर्न बाधा आएकाले अध्यदेशमार्फत् काम चलाउनुपरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको भनाइ छ ।
हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरू अध्यापन गराउनको लागि प्रयाप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ ।
प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक कार्यक्रमलाई बाधा नपार्नको लागि तत्काल चितवनको भरतपुर अस्पतालमा पठनपाठनको व्यवस्था मिलाइएको उनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्