२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको एक सदस्यले नै बार्गेनिङ गरेको अर्थमन्त्रीको जिकिर


3.302k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको सूचना आफूले पाएको दाबी गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा मन्त्री शर्माले शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेकोे जिकिर गर्नुभयो ।

उहाँले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोपसमेत लगाउनु भयो ।

कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्‍याइन्छ भन्ने उहाँको प्रश्न थियो । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने शर्माको भनाइ थियो । उहाँले पछिल्लो १५ दिनमा बैंकहरुमा कतिले एलसी खोलेका छन् भन्दै रेकर्ड माग गर्नु भयो ।

यस्तै, अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताउनुभयो । श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुन नसक्ने उहाँको भनाइ थियो । मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताउनुभयो ।

उहाँले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्‍याइरहेको बताउनुभयो । उहाँले ती प्रविधिले पुर्‍याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले क्रिप्टो करेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको पनि उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले सरकारले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीलाई समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।