एजेन्सी, चैत्र ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसकै कारण अमेरिका बन्द नहुने उद्घोष गरेका छन् ।
कोरोना भाइरसको प्रकोप लगातार बढिरहे पनि ट्रम्पले बन्द गराउनको लागि अमेरिका नबनेको जवाफ दिएका हुन् ।
सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको उनको भनाइ छ ।
सोमबार प्रेस सम्बोधनमा ट्रम्पले सतर्कतापूर्वक आर्थिक कामहरु यथावत सञ्चालन गर्न निर्देशन दिन सक्ने बताइएको छ ।
अहिलेसम्म अमेरिकामा यो भाइरसबाट ४६ हजार १४५ जना संक्रमित भइसकेका छन् भने ५८२ जनाको मृत्यु भैसकेको छ ।
भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ ।
यद्यपि, ट्रम्पले यो एउटा चिकित्सासम्बन्धी समस्या भएको र यसका कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् ।
सिनेटले पारित गरेन बजेट
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको प्रस्ताव बहुमत नपुग्दा यत्तिकै तुहिएको छ ।
कोरोना भाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै प्रस्ताव पेश गरिएको थियो । मतदानमा पक्ष र विपक्षमा बराबर अर्थात् ४७–४७ मत परेको थियो । विधेयक पारित हुन १०० सदस्यीय सिनेटमा ६० मत आवश्यक पर्दछ ।
प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरुले मतदानमा भाग नलिएको र रिपब्लिकन पार्टीका पाँच सदस्य कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहँदा मतदानमा उपस्थित हुन सकेनन् ।
रिपब्लिकन पार्टीले अघि सारेको योजनाले लाखौं अमेरिकी कामदारलाई पर्याप्त संरक्षण गर्न नसक्ने भन्दै डेमोक्रेट्सका सांसदहरुले प्रस्तावमा मत नदिएका हुन् ।
उनीहरुले संक्रमित व्यक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन पनि योजना विफल रहेको आरोप लगाए ।
अमेरिकी परिवार र हजारौं बन्द उद्योग व्यवसायलाई मद्दत गर्न झन्डै एक खर्ब ७० अर्बभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव रद्द भएको हो । रिपब्लिकन, डेमोक्रेट्स र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबीच गहन वार्ता भएपनि सहमति बन्न् नसकेको हो ।
प्रतिक्रिया दिनुहोस्