१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो खुल्यो


78
Shares

काठमाडौं । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । बाटोमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्नेलगायत काम भइहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीलाई त्यहाँसम्म जान अनुमति दिइएको छ । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँनेछन् ।

आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने जनाइएको छ ।

यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्‍याङ प्रयोग गरिएको छ । यसअघि सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो ।

दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधार शिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने प्रचलन छ ।