
काठमाडौं । इन्ज्युरी समयमा दुई गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई ४–२ ले हराएको हो ।
सेभियाको जितमा डिएगो कार्लाेस, लुकास ओकम्पास, राफा मिर र एलेसान्द्रो गोमेजले गोल गरे । ग्रानडाका डार्विन माचिस र भिक्टर डियाजले गोल फर्काए ।
रमन सान्चेज पिजवानमा भएको खेलको २३ औं मिनेटमा डार्विन माचिसको गोलबाट घरेलु टोली सेभियापछि परेको थियो । डार्विनले लुइस स्वारेजको पासमा गोल गरेका थिए । तर, ग्रानडाको अग्रता लामो सम टिकेन । ३२ औं मिनेटमा डिएगो कार्लाेसले जेसस नाभासको पासमा हेडर गोल गर्दै सेभियालाई खेलमा फर्काए । ६६ औं मिनेटमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए । ८८ औं मिनेटमा भिक्टर डियाजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलमा इन्ज्युरी समयमा राफा मिर र गोमेजले गोल गर्दै सेभियालाई रोमाञ्चक जित दिलाए ।
यो जितसँगै सेभिया ३१ खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सेभियाले दुई खेल कम खेलेको बार्सिलोना र एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडलाई ३ अंकले पछि पारेको हो । सेभिया शीर्षस्थानमा रियल म्याड्रिडभन्दा ९ अंकले पछि छ । पराजित ग्रानडा २९ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्