
भक्तपुर । भोलि आइतबारबाट सुरु हुने भक्तपुरको प्रसिद्ध बिस्का: जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।
जात्राका लागि स्थानीय नेवार समुदायले रथ बनाउने लगायतका काम गरिरहेका छन् । पुरानो वर्षको समाप्ति र नयाँ बर्षको सुरुवातलाई जनाउँ दिने यो जात्रालाई विश्व केतु जात्रा पनि भन्ने गरिन्छ ।
बिस्का: जात्रामा रथ जात्राको विशेष प्रसिद्धि रहेको छ । भक्तपुरको टौमढीबाट रथलाई माथि र तल ‘टग अफ वार’ शैलीमा विजयी स्थानतर्फ लाने होडबाट जात्रा सुरु हुन्छ ।
विजयी टोली हुनका लागि टौमढी टोलभन्दा माथिको स्थानलाई थने र तलको स्थानलाई कोन्हे भन्ने गरिन्छ । रथलाई आफ्नो इच्छ्रयाइएको ठाउँमा लाने होडले पनि बिस्का जात्रामा रथ तान्न आउने युवालाई आर्कषित गर्ने गर्छ ।
जात्राका लागि अहिले टौमढीमा रथ बनिरहेको छ । लिच्छवीकालीन स्वरुपमा तयार भएको यस भैरवनाथको रथमा सत्तरीदेखि पैँसठी बर्ष पुराना काठको समेत प्रयोग भएको बताइन्छ ।
बेताल भैरवको रथ नाइकेको निर्देशमा तान्न सुरु हुने र यसपछि ‘होस्से, हैसे’ गर्दै रथ तान्ने होड सुरु हुने गरेको संस्कृतिविध ओम धौभडेलले बताउनुभयो ।
जात्रामा रथ तान्दा स्थानीयबीच झगडा हुने गरेकोमा अहिले बिस्का जात्रासँग सम्बन्धित झगडा कम र जात्रा व्यवस्थित भएको स्थानीय कुमार ग्वाच्छाले बताउनुभयो ।
जात्रामा केही व्यक्तिको उद्दण्डताका कारण स्थानीय र नजिकका व्यापारीलाई मार पर्ने भएकाले अनुशासन र मर्यादा कायम हुनुपर्ने स्थानीयको भनाई छ ।
किंवदन्ती अनुसार नाग नागिनिले सन्त्रास मच्याएपछि नाग नागिनीलाई मारेर लिङ्गोको हलिन्पत बनाएर झुन्ड्याएकै कारण प्रत्येक बर्ष भक्तपुरमा नाग नागिनीको स्मृतिमा लिङ्गो उभ्याउने र ढाल्ने जात्राको सुरूवात भएको हो ।
यस्तै, पुरानो बर्षको समाप्तिपछि नयाँ बर्षको सुरुवातलाई यस जात्राले जनाउ गर्ने भएकाले यसलाई विश्व केतु जात्रा पनि भन्ने गरिन्छ ।
भैरवनाथ रथ तानेर सुर हेर्ने जात्रा प्रत्येक बर्ष बैशाख ५ गते पाँचतले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।
आठ रात नौ दिन लामो बिस्का जात्राको मुख्य आकर्षण लिंगो ठड्याउनु हो । जात्रा र परम्परागत भोजभतेरको थलो भक्तपुरकोे गरिमा यहाँको जात्रा र परम्परागत रितिथिती नै हो ।
प्रतिक्रिया दिनुहोस्