
सोलुखुम्बु ।सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माणको काम सम्पन्न भएको छ ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेले छ जना आइसफल डाक्टर सहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न भएको हो ।
‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।
आङसर्की शेर्पाको नेतृत्वमा निर्माण सकिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) नाम्चेकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो । वर्षौं अघिदेखि सगरमाथाको बाटो बनाउने काम सरकारले एसपीसीसीलाई जिम्मा दिने गरेको छ ।
हरेक बर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरुले आल्मुनियमका भ¥याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् ।
आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भ¥याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् ।
पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार ४०० मिटर उचाइको क्याम्प दुईसम्म दर्जनौं सानाठूला हिमखाल्डा रहेका छन् ।
क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नुपर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरुले आरोहणकै समयमा गर्छन् ।
हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरु बताउँछन् । हिमपहिरो गएमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्दछ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिविर एउटै हो । आधार शिविरबाट क्याम्प दुइसम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ ।
बाटो खुलाउने जिम्मेवारी लिएको एसपीसीसीले बाटो खुलाएर अनुमति दिएपछि मात्रै आरोही तथा आरोहण व्यववसायीहरू दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गर्ने काम हुन्छ ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अहिलेसम्म २१ वटा समूहका दुई सय जनाले अनुमति लिइसकेका छन् । त्यस्तै, ल्होत्से हिमाल आरोहणका लागि ५२ जना र नुप्त्से हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस्