
चुनावी जित नै सम्पूर्णतामा पूर्णता भएपछि गठबन्धन भन्दा पार्टी विलय, पार्टी एकता र मर्ज नै सर्वाधिक उपयुक्त विकल्प हो । उपयुक्त यस मानेमा कि पार्टीहरूको एक मात्र अभिष्ट र अर्जुन दृष्टि चुनावी नतिजा हात पार्नु हो । जित आफ्नो पोल्टामा राख्नु हो ।
सिद्धान्तहः राजनीति सत्ता प्राप्तिको निमित्त नै हो । सत्ता बिना आफ्नो लक्ष्य र उदेश्य प्राप्त गर्न सकिन्न । नीति सिद्धान्त र कार्यक्रम लागू गर्न सकिन्न तसर्थ सत्ता राजनीति गर्नेको प्रयोजन हो । यद्दपि पार्टी सिद्धान्त उदेश्य र नीति विपरित सत्ता प्राप्तिको लागि मात्रै चुनावी जित चाहनु पार्टीको राजनीतिक धर्म, नैतिकता र कर्तव्य हुन सक्दैन । पृथ्वीमा प्राकृतिक र कृतिम दुई विधिको प्रयोगद्वारा कुनै पनि चिज प्राप्त गर्न सकिन्छ । प्राकृतिक स्वत प्रकृति प्रदत्त हुन्छ जसलाई विधिको विधान सम्मत भनेर व्याख्या विश्लेषण गरिन्छ । प्राकृतिक कुरालाई अस्वाभाविक र अप्रत्यासित मानिन्न । तर अप्राकृतिक कुरालाई स्वाभाविक धर्म कर्तव्य र नैतिकतासँग जोड्न मिल्दैन । नेपालमा राजनीतिक पार्टीहरू जे अभ्यास गरिरहेका छन् त्यो अप्राकृतिक अभ्याससँग तुलना गर्न मिल्ने काम गरिरहेका छन् । कुनै विशिष्ट परिस्थितिमा राज्यमा आइ परेको संवेदनशील घडीमा, जनसरोकारको उच्च प्राथमिकताको विषयमा, संक्रमणकालीन स्थितिमा अपवाद अस्वाभाविक हुँदैन । तर आफ्नो सामान्य जित हारको लागि हार्न नचाहने मनस्थिति र इगोको चरम रूपले गर्दा जे हुँदै छ सो सामान्य छैन ।
राजनीतिमा सिद्धान्त नीति र कार्यक्रम शैली मान्यता र तौर तरिका फरक हुनाले अलग अलग पार्टी. फरक –फरक सिद्धान्त भएर पार्टी बन्ने भत्कने गर्छन् । चुनाव जित्नकै लागि पार्टीमा चुनावी मोर्चा बन्नु र कसैलाई हराउन नै पार्टी –पार्टी एक हुनु असल कुरा होइन । अरुलाई जित्न आफू बलियो हुनु जनतामा विश्वासिलो बन्नुको सट्टा अरु पार्टी,व्यक्तिसँग नाजायज साँठगाँठ गरेर जितको अभिलाषा राख्नु नितान्त स्वार्थको मिलन हो । स्वार्थको मिलनको ताजा उदाहरण तत्कालीन नेकपा माओवादी केन्द्र र तत्कालीन एमालेको चुनावी गठबन्धन र पार्टी एकतालाई नियाले हुन्छ । अकस्मात कुनै पार्टी जुट्नु र फुटनुमा निजी र व्यक्तिगत लाभहानी जोडिएको हुन्छ । जनता र राष्ट्रको समस्या सामाधानको कडी हुँदैन । फलत आज कम्युनिस्ट पार्टीहरुको हालत जस्तै चिरा–चिरा.छिन्न–भिन्न हुन्छ । आवश्यकता भन्दा छिटो र चमत्कारयुक्त विलय, आश्चर्य मिश्रित एकताको आयु लामो देखिएको छैन । तत्कालीन लाभ हेरेर मिलेकाहरू तत्कालीन स्वार्थ बाझेर टकराउँछन् र टुक्रिन्छन् पनि । यसर्थ दीर्घकालीन लक्ष्य उदेश्य र आदर्श सहित कोही मिल्नु श्रेयस्कर हुन्छ । अन्यथा मिल्नुको अर्थ क्षणिक स्वार्थको व्यवस्थापन र साझेदारी मात्रै हुनसक्छ ।
स्थानीय निर्वाचन २०७९ बैशाखको सरगर्मी बढेको बेला पार्टीहरुको चुनाव मिलेर लड्ने विषयले देश गर्माएको छ । यही गरमा गरममा पार्टीहरूलाई निशुल्क सल्लाह दिनु एक नागरिकको कर्तव्य सम्झेको छु ।
श्रीलंका चरम आर्थिक संकटमा गुज्रेको, लेवनान टाट पल्टेको घोषणा आइरहेको बेला नेपाल पनि चरम आर्थिक संकटमा गुज्रने आर्थिक प्रक्षेपण भइरहेको छ । यस्तो बेला बग्रेल्ती पार्टी हुनु भन्दा दुई या तीन पार्टी बन्ने सुझाब असान्दर्भिक नहोला । नीति, सिद्धान्त र कार्यक्रम भनेको नै जसरी पनि चुनाव जित्ने मात्रै हुँदा पार्टीहरू विलय मर्ज र एकीकरण किन नगर्ने ? यो पनि खर्च कटौतीको एक प्रस्ताव र प्रभावकारी माध्यम हुनसक्छ ? एकै झण्डा एकै पार्टी कार्यालय लगायत पार्टी सञ्चालनका यावत खर्च जोगिने भयो । चुनाव चिन्ह झण्डा फरक छाप्ने झन्झट नहुने,जसले फजुल खर्च कम गर्न मद्त गर्छ । फजुल पार्टी र फजुल खर्च नियोजन आजको आवश्कता हो । यसर्थ देशमा क्रियाशील राजनीतिक दलले विभिन्न वित्तीय संस्था मर्ज भएर विलय भए झैँ हुनु वान्छनीय देखिन्छ । वित्तीय संस्थाको उदेश्य केवल नाफा कमाउनु मात्रै हो भने पार्टीहरुको उदेश्य जसरी भए पनि सत्तामा पुग्नु मात्रै हो । एकै उदेश्य र एकै प्रयोजन भए पछि चुनावमा फरक– फरक पार्टीको रूपमा जानु भन्दा एकीकरण गरेर जानु उचित हुन्छ । चुनाव जित्नु आफ्नो स्वार्थपूर्तिको माध्यम भएपछि अलग –अलग पार्टीको अभ्यास गर्नु व्यवहारिक देखिन्न । सत्ता यात्राको लागि संधै गठबन्धन गर्नु पर्ने, चुनाव जित्न एक अर्काको शरण पर्नु नै पर्ने हुँदा बेग्ला बेग्लै पार्टी हुनुको औचित्य पुष्टि भएको छैन । अझ अर्को कुरा जनता केन्द्रित जन समस्या र जनजीविकाको सवालको राजनीति कसैको पनि नदेखिएकोले सैद्दान्तिक भिन्नता कतै नरहेको र सत्ता मात्रै उदेश्य रहेकोले नेपालका पार्टीहरूमा समानता नै समानता भेटिन्छ । संघीयता पक्षधर हुन् या बिरोधि, राजतन्त्रवादी हुन् या गणतन्त्रवादी, हिन्दुअधिराज्यको वकालत गर्ने हुन् या धर्म निरपेक्ष राज्यको समर्थन गर्ने सबैको उदेश्य केवल सत्ता प्राप्ति हो । सत्ता प्राप्त गर्न सबै किसिमका नाजायज गैरकानुनी अनैतिक हर्कत पार्टीहरूले गरेको देखिन्छ । नेपाल मजदुर किसान पार्टी भन्दा बाहेक सबै पार्टी सत्ता स्वार्थका मतियार बनेर निस्केका छन् ।
यहाँ पार्टी छुट्टै हुनु भनेको नेताहरूको व्यक्ति व्यक्तित्वको टकराव र इगो व्यवस्थापन मात्रै हो । अन्यथा नैतिक मूल्य मान्यता कार्यशैली सबै उस्तै र दुरुस्तै छ । यो पार्टी चाँहि ठिक यो खराब भनेर विश्लेषण गर्ने आधार र सैद्दान्तिक पक्ष छैन । बस् मलाई चै यो पार्टी ठिक लाग्छ भन्नु बाहेक ठिक लाग्नुको तर्क जुनसुकै पार्टीका समर्थकको पनि न्यायोचित र दमदार छैन । पार्टीको नाम भिन्न हुनु नेता फरक हुनु र अलग पार्टी कार्यालय हुनु भन्दा बाँकी अरू भिन्नता आजका पार्टीमा छुट्याइएर हेर्न नसकिने विषय हुन् । नयाँ संस्कार नवीन सोच र शैली भनेर गठन गरिएका विवेकशील र साझा पार्टीको गठन पुनर्गठन, विभाजन मिलन र पुनः फुटको शृंखलाले सबै जोगी कान चिरेका भन्ने उक्तिको चरितार्थ गर्दै राजनीतिमा निराशा र वितृष्णा बढाउने काम गरेको छ । राजनीति आशाको उज्यालो हो देश बनाउने उत्तम माध्यम हो भन्ने भावना भन्दा राजनीति फोहोरी खेल हो । भ्रष्टचार गर्ने अखडा हो । बेइमानहरूको क्रिडास्थल हो भन्ने नकारात्मकता र घृणाभाव पैदा गराएको छ । हरेक युवा पुस्ता राजनीतिलाई गलत नजरले हेर्छ । यी सबको कारण राजनीतिमा मौलाएको व्याप्त विकृति र असंगत अभ्यासले गर्दा हो । लोकतन्त्रमा बहुदलीय व्यवस्थाको सौन्दर्य र मानक भनेको नै विविध पार्टीको प्रतिस्पर्धा र छनौट हुन्छ । निर्दलीय या दुई दलीय अभ्यास । कांग्रेसका संस्थापक नेता बीपीले पंचायत फाल्ने आन्दोलन समेत कम्युनिस्टसँग मिलेर गर्न चाहेनन् । तर आजको कांग्रेस कम्युनिस्टको बैशाखी बिना एक पाइला चाल्न आनाकानी गर्छ । पार्टी पनि स्वार्थ समूहकै बहुआयामिक र बृहत्तर रूप हो । तर अहिले बन्ने र भत्किने समीकरण पार्टी एकता सानो स्वार्थ समूहको आपसी लेनदेन र विशेषत उच्च ओहोदाका नेताहरूको स्वार्थको सौदाबाजी बन्यो । लोकतन्त्रको लागि भन्दै दल मिल्ने र चुनावमा गठबन्धन गर्ने कुरा केवल देखाउने दाँत भनेर बुझ्न सकिन्छ अन्तर्य नेताका आफ्ना मान्छे जिताउन र आफू सुरक्षित हुन गठबन्धनको चर्चा र अनिवार्यता भनिन्छ । अर्को पार्टीमा भोट नहाल्ने हो भने पार्टी छोडेर जान आफ्नै कार्यकर्तालाई धम्की दिने स्थिति आउनु कति लाज मर्दो कुरा हो ? तसर्थ यति धेरै अनैतिक बन्नु भन्दा पार्टी मर्जमा जानु हजार गुणा वेस हो ।
पार्टीहरूले गर्ने अस्वस्थ प्रतिस्पर्धा मात्रै बेठिक हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धालाई उत्प्रेरित गर्नुपर्छ । सरकार बनाउन बहुमत पुर्याउन अरु पार्टीको सहारा लिनु र चुनाव जित्नकै लागि अन्य पार्टीसँगको मोर्चाबन्दी बहुदलीय व्यवस्थाको मर्म, भावना, उदेश्य र सार्थकता विपरित कुरा हुन् । असैद्धान्तिक र अनैतिक कुरा हुन् । तसर्थ अनैतिक अप्राकृतिक असंगत गठबन्धन र चुनावी प्रतिष्पर्धा गर्नु भन्दा सहज तरिकाले गठबन्धन चाहने दलले पार्टी एकीकरण गर्नु उचित र सान्दर्भिक हुन्छ । शेरबहादुर देउवा प्रचण्ड र माधव या चित्र बहादुर सबैको पार्टीको नाम र नेता फरक हुन् झण्डा फरक हा,े तर उदेश्य एकै हो सत्ता प्राप्ति । नेकपा एमाले पनि आफू विरूद्ध महागठबन्धन हुने सङ्केत र चलखेल खुल्ला घोषणाले तिल्मिलाएको छ । तसर्थ ओली कहिले कमल थापाको दैलो त कहिले राजेन्द्र लिङ्गदेनको आँगनमा मिलेर चुनावमा जाने देउसीभैलो खेल्दैछन । यी यावत दृश्य घटना र नेताहरूको क्रियाकलपले राजनीति कसका लागि र किन भन्ने सवालको भद्दा जबाफ दिइरहेको छ । चुनाव भनेको प्रतिष्पर्धा हो हार जीत आ–आफ्नो काम जनताको विश्वास र अविश्वासद्वारा निर्धारित हुन्छ । तर हाल राजनीतिक दलमा देखिएको अवगुण पराजय स्वीकार गर्न नसक्नु जसरी पनि जित्नु आफू भन्दा अर्कोको जीत अस्विकार गर्नु देखिन्छ । बहुदलीय प्रतिस्पर्धाको लागि यस्ता शैली, विचार र अतिवादी हर्कत शोभनीय होइनन् ।
त्यसैले चुनावी मोर्चा गठबन्धन भन्दा पार्टी एकीकरण र मर्ज थोरै भए पनि नैतिक र सिद्धान्तपरक हुन्छ । चुनाव जित्न चाहने जसरी पनि मिलेर चुनाव लडने मनसाय भएका दलहरूको लागि पार्टी मर्ज सर्वोत्तम र सर्वाधिक तार्किक विकल्प हो ।
प्रतिक्रिया दिनुहोस्