
काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्दो नभएको दावी गर्नुभएकाे छ ।
नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्ने पनि बताउनुभयो । यसका लागि आयातमा देखिएको संकट समाधान गर्दै मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, साेही कार्यक्रमलाई सम्बाेधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्किन सङ्घर्षरत रहेको बताउनुभएकाे छ । उहाँले बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेको बताउनुभएकाे हाे ।
विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई उपयुक्त व्यवहारिक उपाय निकालेर कार्यान्वयनमा लैजान आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्