
काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।
‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आज (आइतबार) सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । महत्वपूर्ण खेलमा खुमलटारका सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याएका छन । तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकालेकाे छ । जितसँगै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो । २०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक शीर्ष लिगमा उक्लिएको हो ।
खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । र, लिगको दोस्रो स्थानमा रह्यो । रानीपोखरी कर्नर टिम (आरसिटी) सँग समान २२ अंक भएपनि हेड टु हेडमा खुमलटार अघि रह्यो ।
‘बी’ डिभिजन लिगको उपाधि भने चर्च ब्वाइज युनाईटेडले जितेको छ ।
प्रतिक्रिया दिनुहोस्