
कैलाली । सुदूरपश्चिममा कोरोना महामारीका कारण दुई वर्ष ठप्प जस्तै रहेको खेल क्षेत्र लयमा फर्किन थालेको छ । पछिल्लो समय ठूला प्रतियोगिताको आयोजनाले खेलक्षेत्र लयमा फर्किन थालेको हो । राष्ट्रिय स्तरका प्रतियोगिता पनि धनगढीमा आयोजना हुन थालेपछि यस क्षेत्रको खेलकुद चलायमान हुनथालेको छ ।
सुदूरपश्चिमको राजधानी कैलालीको धनगढी पछिल्लो समय खेलमय बन्दै गएको छ । धनगढीमा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलकुद प्रतियोति हुन थालेपछि खेलमय बन्दै गएको हो । पछिल्लो एक महिनाको अवधिमा फुटबल, क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएका छन भने केहि प्रतियोगिताको तयारी भईरहेको छ ।
प्रदेशमा ठुला प्रतियोगिता धनगढीमा आयोजना हुन थालेपछि खेलाडी र प्रशिक्षकहरु पनि उत्साहित हुन थालेका छन । राष्ट्रिय प्रतियोगिताहरु धनगढीमा आयोजना हुन थालेपछि सजिलो भएको बताउदै सुदूरपश्चिमको भलिबल टिमका कप्तान हिक्मत गिरीले हाम्रो खेल क्षेत्र र खेलाडिको दैनिकी पनि सहज हुने अपेक्षा लिएको बताउनुभयो ।
धनगढीमा सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्ड कप पनि केही दिन अगाडि सम्पन्न भएको छ । निजी क्षेत्रबाट आयोजना भएको स्कुल स्तरको लिटिलफ्लावर क्रिकेट प्रतियोगिता र क्रिकेट संघको आयोजना राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता पनि धनगढीमा सम्पन्न भएको हो । सरकार र निजी क्षेत्रबाट एकपछि अर्को विभिन्न प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । कोरोनाका कारण ठप्प रहेको सुदूरपश्चिमको खेलकुद लयमा फर्केको प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंहले बताउनुभयो ।
प्रदेशमा बजेट अभावका कारण खेल क्षेत्र अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैन । तर प्रदेश खेलकुद परिषद्ले भने अहिले निजी क्षेत्रसंग सहकार्य गर्दै राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने नीति अवलम्बन गरेको परिषद्का सदस्य सचिव दिपक सिंहले बताउनुभयो ।
राष्ट्रिय स्तरका खेलकुदमा सुदूरपश्चिमको सहभागिता सधै रहने गरेको छ । प्रदेशमा भौतिक संरचना र खेल मैदानको अभावकाबीच पनि खेलाडी उत्पादनमा सुदूरपश्चिम अगाडि देखिएको छ ।
अहिलेकै जस्तो प्रतियोगिता आयोजना हुने क्रमलाई निरन्तरता दिनसके केही समयपछि प्रत्येक खेलको राष्ट्रिय टिममा सुदूरपश्चिमका आधा भन्दा बढी खेलाडीले स्थान पाउने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्