
काठमाडौं । स्थानीय निकायको चुनाव आउन एक महिना बाँकी छ । उम्मेद्वारहरू काठमाडौंलाई सुनको टुक्रा बनाउने प्रतिबद्धता लिएर मतदाताका घरदैलो चाहार्न थालिसकेका छन् ।
१० दिनदेखि सडकपेटीमा थुप्रिएको फोहोरको दुर्गन्धले भने राजनीतिक नेतृत्वको प्रतिबद्धतामाथि व्यंग्य गरिरहेको छ । कहिले पाउला काठमाडौं उपत्यकाले फोहोरको राजनीतिबाट मुक्ति ?
तीन दशकयता विभिन्न समयमा भएका चुनावमा काठमाडौंको फोहोर मोहोर बनाउने हरेक पार्टीको पहिलो एजेण्डा बन्ने गर्छ । चुनावको समाप्तिसँगै विभिन्न बाहानामा त्यही फोहोरसँग राजनीतिक नेतृत्व पराजित हुने गर्छ ।
हुँदाहुँदा सडकमा थुप्रिने फोहोरसँग उपत्यकाबासी यति अभ्यस्त भइसके कि अब त कसैले प्रश्न पनि गर्न छोडेका छन् । फोहोर कुहिएर वरिपरिको वातावरण दुर्गन्धित हुँदाको पीडाले समेत कसैलाई दुख्न पोल्न छोडेको छ ।
काठमाडौं उपत्यकाका मुख्य सडक र पेटीका फोहोरको डँगुर हेरिसाध्य छैन । अझ सवारी साधनका पांग्रा, फोहोर खोतल्ने कुकुर र हावाहुरीले त झन फोहोरको साम्राज्य जताततै फैलिएको छ ।
फोहोर उठ्न नसकेपछि स्थानीयले बाटैमा ल्याएर फोहोर थुपार्ने गरेका छन् । यसबाट स्थानीय, सवारीचालक र पैदलयात्री प्रत्यक्ष प्रभावित भएका छन् । पैदलयात्री भने सडकमा फोहोरको डुंगुर थुप्रिनुमा स्थानीय र जनप्रतिनिधि समान दोषी रहेको बताउँछन् ।
ठेकेदारले लामो समयदेखि अलपत्र पारेको पासाङ ल्हामू सडक अन्तर्गत नुवाकोटको मुड्खु–तीनपिप्ले खण्डमा कालोपत्रेको माग गर्दै स्थानीयले अवरोध गरेकाले फोहोर उठ्न नसकेको महानगरको भनाइ छ । स्थानीयको माग उचित रहेको उसको ठम्याइ छ ।
काठमाडौं महानगरका अनुसार एकै दिन १२ सय टन सम्म फोहोर उत्पादन हुन्छ । यो फोहोर महानगर र निजी कम्पनीका २ सय बढी टिपर र ट्रकबाट सिसडोल लैजाने गरिन्छ ।
विगत १० दिनदेखि फोहोर नउठ्दा अहिले उपत्यकामा १० हजार टन बढी फोहोर थुप्रिएको छ । बर्खा लागेसँगै फोहोरबाट निस्किएको दुर्गन्धले रोगको महामारी फैलिने त्रास उत्तिक्कै छ ।
त्यसैले फोहोर व्यवस्थापनमा आएका समस्या शीघ्र समाधान हुनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्