
ग्रिष्मा राजभण्डारी र भरत केसी (ईमेज)
काठमाडौं, चैत १२ । सरकारले लकडाउन घोषणा गरेको बुधबार दोस्रो दिन । मंगलबार आंशीक चहलपहल देखिए पनि बुधबार काठमाडौको जनजीवन थप ठप्प रह्यो ।
विहानको समयमा मानिसहरू केही बाहिर निस्किए पनि आवश्यक बाहेक सम्पूर्ण सेवा बन्द रहेकाले दिउंसो काठमाडौ पुरै ठप्प रह्यो ।
सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेपछि सर्वसाधारण घर भित्रै थुनिएका छन् । सडकमा सार्वजनिक तथा निजी सवारी साधन मंगलबारदेखी नै ठप्प रहेकाले संधै व्यस्त रहने सडक पुरै खाली भएका छन् ।
आइतबार सरकारले नै काठमाडौंमा एक जना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेपछि त्रसित अधिकांश सर्वसाधारण घर भित्रै बसेपनि सडकमा फाट्टफुट्ट निस्किएका मानिसलाई समेत प्रहरीले सम्झाएर घर फर्काइरहेको छ ।
मंगलवारको तुलनामा बुधवार, राजधानी काठमाडौका मूल चोक र सडकमा प्रहरीको उपस्थिति बढाइएको छ । फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको विवरण सरकारले सोमबार सार्वजनिक गरेपछि सोही उडानमा यात्रा गरेका तथा उक्त परिवारको सम्पर्कमा पुगेकाहरु पहिचाहन गर्दै निगरानीमा राखिएकाले यो लक डाउनको अवस्था एक सातासम्म कायम रहने भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभर लागु गरेको लक डाउन घटना क्रम र परिस्थिति विश्लेषण गरेर लम्विन पनि सक्ने संकेत गरेपछि सर्वसाधारण अत्यावाश्यक खाद्य तथा उपभोग्य सामाग्री जोहो गर्न तल्लिन छन् ।
स्थानीय बजारमा खाद्य तथा औषधी पसल खुलेका छन् । कोरोना भाइरसको महामारीले त्रासदिपूर्ण परिस्थिति निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी पछि थप सशंकित बनेका सर्वसाधारण, चिकित्सकको परामर्शमा जाने र व्यक्तिगत् सतर्कता अप्नाउने तर्फ पनि निकै सचेत देखिएका छन् ।
कतिपयलाई भने सरकारको निर्णय चित्त बुझेको छैन, जो निर्वाद सडकमा निस्कि रहेका छन् । सुरुमा २५ जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, अन्तराष्ट्रिय उडानमा निगरानी र नियन्त्रण बढाउने तथा सिमा नाका सिल गर्ने निर्णय पछि सरकारले दोश्रो चरणमा एक साताका लागि देशव्यापी लक डाउन घोषणा गरेको हो ।
यो त्रास यो बीचमा कम नभएमा सरकारले थप कठोर निर्णय लिनसक्ने जनाउ दिईसकेको छ, जुन नागरिकको सुरक्षाका निम्ति सरकारको महत्वपूर्ण दायीत्व हो । त्यसैले यो संकटको घडीमा सरकारको आग्रह पालना गरौं– अनावश्यक सवारी साधन सडकमा ननिकालौं ।
प्रतिक्रिया दिनुहोस्