१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कोरोनाको आशंकामा भीम अस्पतालमा भर्ना भएका दुईजनाकै रिपोर्ट ‘नेगेटिभ’


0
Shares

भैरहवा, चैत १२ । कोरोना भाइरसको संक्रमणको आशंकामा भैरहवास्थित भीम अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना विरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

शनिबार भर्ना भएका रुपन्देही तिलोत्तमा मणिग्रामका १० वर्षिय बालक र प्युठानका २० वर्षिय युवा दुवै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए ।

दुवै जनाको स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

भीम अस्पतालमा अबदेखि कोरोना संक्रमण पुष्टि भएका विरामीको मात्रै उपचार गरिने र मिल्दोजुल्दो लक्षण देखिएका विरामीको उपचार बुटवल धागो कारखानामा बनेको आइसोलेसन अस्पतालमा हुने अस्पतालले जनाएको छ ।

अस्पतालमा ३० बेडको कोरोना उपचार केन्द्र बनिरहेको र तीन दिन भित्र तयार हुने पनि उपाध्यायले जानकारी दिए । भिम अस्पताललाई तत्कालका लागि कोरोना उपचार केन्द्रको रुपमा विकास गर्ने कामलाई तिव्रता दिइएको छ ।

अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको प्रदेश ५ सरकारले जनाएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार भीम अस्पताललाई कोभिड–१९ समर्पित अस्पतालको रुपमा विकसित गर्ने निर्णय बमोजिम कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको अस्पतालले जनाएको छ ।