
कैलाली । सुदूरपश्चिममा चुनावी सरगर्मी बढ्दै गएकाे छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनकाे घोषणा गरेसँगै राजनीतिक दलहरू चुनावकेन्द्रित गतिविधिमा लागेका हुन् । निर्वाचनलाई केन्द्रित गरेर राजनीतिक दलहरूले वडादेखि टोलसम्म प्रशिक्षण कार्यक्रम राखेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसले ‘घर–घर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान नै थालेर कार्यक्रताहरूलाई गाउँ घरमा केन्द्रित गरेको छ ।
साथै सत्ता गठबन्धनमै रहेका दलहरू गठबन्धन गरेरै निर्वाचनमा जानका लागि पनि तयारी थालेको कांग्रेसले जनाएको छ । कुन जिल्ला वा स्थानीय तहमा कुन दलको हैसियत कस्तो सो अनुसार गठबन्धन हुने कांग्रेसले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर गाउँ, टोल तथा बृहत प्रशिक्षण कार्यक्रममा जोड दिएको छ । सत्ता गठबन्धनलाई बढार्नेगरी एमालेले चुनावी रणनीति बनाएकोसमेत उसकाे दाबी छ ।
पूँजीवादी गठबन्धन र राष्ट्रवादी एमालेबीचको प्रतिस्पर्धामा ५१ प्रतिशत सिट ल्याउने गरी निर्वाचनमा केन्द्रित भएको एमालेले जनाएको छ ।
नेकपा एमालेमा विद्रोह गरी छुट्टै पार्टी बनाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि आफ्नो संगठन निर्माणसँगै चुनाव केन्द्रित गतिविधिलाई तीव्र पारेको जनाएको छ । सके गठबन्धनबाट नभए आफ्नै क्षमताले पनि निर्वाचन लड्ने पार्टीकाे तयारी छ ।
नेकपा (माओवादी केन्द्र)ले पनि टोल कमिटी गठन तथा प्रशिक्षणका कार्यक्रम निकै तीव्र बनाएको छ । नेताहरू अहिले प्रशिक्षण चुनावी प्रचारप्रसारमा व्यस्त छन् । याेसँगै अन्य दलहरू पनि चुनाव केन्द्रित गतिविधिमा सक्रिय भएका छन् ।
सुदूरपश्चिममा सत्ताधारी दलहरू गठबन्धन गरेर नै निर्वाचनमा जानसक्ने सम्भावना बढेसँगै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग समेत तालमेल गर्नेगरि तयारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस्