
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज मंगलबार नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
आइतबारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने कार्यतालिका प्रकाशित भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचन कार्यतालिका प्रकाशित भएपनि भरसक शिर्ष तहमा सहमतिको प्रयास भइरहेको निर्वाचन अधिकृत प्रकाश रावलले बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा कार्यतालिका अनुसार मतदान प्रक्रिया आरम्भ हुने बताउनुभयो ।
निवर्तमान महासचिव सरोज सिटौलाले महासंघको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभयो । उहाँले सहमति नहुँदा लोकतान्त्रिक पद्धतीबाट चयन प्रक्रिया अगाडी बढ्ने बताउनुभयो । नेपालको यातायात क्षेत्र विभिन्न संकटले ग्रस्त भएको अवस्थामा देशभरका यातायात व्यवसायीहरुको संरक्षण गर्नसक्ने नयाँ नेतृत्व आउनुपर्ने उहाँले जोड दिनुभयो ।
निर्वाचन कार्यक्रमका लागि ललितपुरको गोदावरीमा देशभरका यातायात व्यवसायीहरु भेला भएका छन् ।
प्रतिक्रिया दिनुहोस्