९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


अमेरिकाले कोरोनालाई ‘वुहान भाइरस’ भन्न जोड गरेपछि जी–७ राष्ट्रमा विभाजन


0
Shares

एजेन्सी, चैत्र १३ । अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी–७ मा मतविभाजन भएको छ । 

कोरोनाभाइरस सम्बन्धी सात राष्ट्रका विदेश मन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अमेरिकी विदेश विभागको ढिपीपछि संयुक्त वक्तव्य नै जारी हुन सकेन ।

‘वुहान भाइरस’ भन्ने शब्द लेख्नुपर्ने अमेरिकी दबाबलाई अरु देशले अस्वीकार गरेपछि समूहमा विभाजन आउनुका साथै वक्तव्य नै अलग्गै आएको छ ।

अमेरिकी विदेश विभागको सुझाव रातो रेखा भएको र यसरी भाइरसको ब्राण्डिङ गरेर सूचना प्रवाह गरिने विषयसँग सहमत हुन नसकिने एक यूरापेली कूटनीतिज्ञले बताएको सिएनएनले उल्लेख गरेको छ ।

अमेरिकी मस्यौदामा महामारी फैलिनुमा चीनमाथि समेत दोष लगाइएको ती कूटनीतिज्ञले बताएको सीएनएनको समाचारमा छ ।

तर विश्व स्वास्थ्य संगठनले स्पष्ट र आधिकारिक रूपमा यसलाई कोविड १९ वा कोरोना भाइरस भनिसकेको छ ।

अमेरिकाले मस्यौदा गरी अरु सात देशका विदेश मन्त्रीहरुलाई पठाएको १२ अनुच्छेदवाला वक्तव्यमा कोरानालाई ‘वुहान भाइरस’ भनिएको थियो ।

अमेरिकी अध्यक्षतामा गठबन्धनको बैठक गरिएकाले वक्तव्य मस्यौदा गर्ने जिम्मेवारी पनि उसैको थियो । जी सेभेनमा अमेरिकासहित बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा सदस्य छन् ।

तर यस्तो मस्यौदा आएपछि अरु परराष्ट्र मन्त्रीहरूले भने आ–आफ्नै ढंगले बैठकबारे वक्तव्य जारी गर्नुपरेको सिएनएनले जनाएको छ । कोरोना भाइरसको प्रकोपकै कारण बैठक पनि भर्चुअल्ली गर्नुपरेको थियो ।