
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
मंगलबार राति बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो ।
२ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनायो ।
बैंगलोरका लागि शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए । डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईंले ३४ रन बनाए । दिनेश कार्तिकले ३४, ग्लेन म्याक्सवेलले २६, मोहमद सिराजले अविजित १४ तथा अनुज रावतले १३ रन बनाए ।
बैंगलोरलाई रोक्न चेन्नईका महेश थिक्सनाले ४ तथा रविन्द्र जडेजाले ३ विकेट लिए । यसैगरी, मुकेश चौधरी र ड्वेन ब्राभोले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।
चेन्नईका लागि शिबम दुबेले अविजित रहँदै ९५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रोबिन उथप्पाले ८८ रनको अर्धशतकीय इनिङ खेल्दा रुतुराज गायकवाडले १७ रन बनाए ।
बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा जोश हाजलउडले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्