२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


राष्ट्र गम्भीर अवस्थामा छ, तर मुलुक किन झन–झन भासमा जाकिने गरी चलाइन्छ ?


2.236k
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने कुरा एउटा राज्य सञ्चालनका लागि सामान्य होला,तर विवादका बिचमा मुलुकको मौद्रिक अवस्थामा संकटको कालो बादल देखिन लागेको समयमा निलम्बनको निर्णय अस्वाभाविक देखिन्छ । मुलुकमा कोही पनि विधिभन्दा माथि हुनै सक्दैन ।

विधिको शासनमा त्यसैपनि राज्यका अति संवेदनशील अंगहरु सुरक्षा समूह, मौद्रिक उत्तरदायीमा रहेको केन्द्रीय बैंक जस्ता संस्थालाई सामान्य अवस्थामा जस्तो हुँडल्दा मुलुकको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्छ जुन अहिले नेपाली समाजमा उठिरहेको छ । संसद चल्न नसकेर बिजिनेस विहीन भएर कोमामा छ, न ब्युँझन सक्छ, न त विघटन गरेर अर्को ताजा निर्वाचन नै गर्न सकिन्छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीशको महाभियोग प्रस्ताव त्यही कोमामा रहेको संसदमा कतै कुनामा कोचिएर बसेको होला । सरकारका दैनिक कामहरुप्रति र राष्ट्रिय एकता देखाएर गर्नुपर्ने काममा पनि गठबन्धन दलहरुको चारतिर फर्कने चलनले अस्थिरताले ठाउँ फेला पारेको हो ।

प्रजातन्त्र आफैँ केही पनि होइन । यसका संस्थाहरु हुन्छन् जसलाई सरकारको रुपमा ग्रहण गरिन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अरु जनताका आवश्यकता पूरा गर्नका लागि न्यायिक, अद्र्ध न्यायिक तथा मौद्रिक अनि सामाजिक न्यायका लागि उत्तरदायी संस्थाहरुको व्यवस्था गरिएको हुन्छ । ती सबै संस्थाहरु जनविश्वासका साथ सक्रिय हुनु नै प्रजातन्त्रको सफलता हो । प्रजातान्त्रिक या लोकतान्त्रिक व्यवस्था हो जसमा जनताको अविश्वासलाई कसैले पनि पचाउनु हुँदैन र बेवास्ता पनि गर्नु हुँदैन । यदि प्रजातान्त्रिक अवयवहरु अक्षम भए भने मुलुक एकाङ्गी हुनेछ र बिस्तारै बिस्तारै मुलुक असफलतातिर उन्मुख हुनेछ ।

नेपालको अहिलेका राजनीतिक अवस्थाले देखाउँछ—प्रजातन्त्र स्थापना, पुनस्र्थापना र बारम्बार गुुमेको प्रजातन्त्र बहाली गर्न त सहज देखियो, तर त्यसको संरक्षण गर्न कति गाह्रो रहेछ । यसै पनि प्रजातान्त्रिक व्यवस्था संवेदनशील र खुला वातावरणमा र जनताको प्रत्यक्ष निगरानीमा चलाइने शासन व्यवस्था हो । यो पंक्तिकार यतिबेर मिश्रका ती युवा संगीतज्ञ, गायक तथा युवा प्रजातन्त्रवादी अभियन्ता रामी एस्समलाई सम्झिरहेको छ जसले राजनीतिज्ञहरुको आह्वान नमानेको बेला मिश्रको तहरिर चोकमा होस्नी मुबारकको निरंकुश शासनका विरुद्ध डेमोक्रेसी गीत गाएर लाखौँ मिश्रेली जनतालाई प्रजातन्त्रको पक्षका उराल्यो र २०११ मा आन्दोलन सफल पनि भयो । जसले होस्नी मुबारकको शासन ढाल्यो । प्रजातन्त्र आयो । प्रजातन्त्रका सामान्य प्रक्रियाहरु सक्रिय भए । तर राजनीतिज्ञहरुले त्यसलाई बचाउन सकेनन् । मिश्रमा फेरि प्रजातन्त्रका नाममा अद्र्ध सैनिक व्यवस्था चलेको छ र रामी जस्ता प्रजातन्त्रका अभियन्ता राष्ट्रविरोधीको आरोपमा युरोप निर्वासनमा बस्नु परेको छ । मैले उनलाई चेक रिपब्लिकका संस्थापका राष्ट्रपति बास्लाभ हाभेलको नामबाट स्थापित पुरस्कारबाट अभिनन्दित हुनका लागि ओस्लो फ्रिडम फोरमले २०१९को मेमा गरेको कार्यक्रममा ओस्लोमा भेटेको थिएँ । उनका ती प्रजातन्त्र गीतहरुले अहिले पनि अरबी भाषा र अंग्रेजी भाषामा रोमाञ्चकता ल्याउँछन् । हिजोका दिनमा रामीले गाउने प्रजातन्त्र गीतले जनताको जोस बढेर होस्नी मुबारकविरुद्ध आन्दोलनमा उठ्न मिश्रेलीहरु जाराक जुरुक उठेका थिए भने अहिले त्यही गीत गाउँदा श्रोताको आँखामा झल्झली त्यही तहरिर चोकको लाखौँको उपस्थिति आउँछ । तर उनी रुँदै– रुँदै त्यही गीत हामीलाई सुनाइरहेका थिए र उनले आफ्नो अभिनन्दन भाषणमा भने—अब मेरो देशमा फेरि कहिले प्रजातन्त्रको उज्यालो आउने हो, थाहा छैन तर मेरो जीवनको उद्देश्य प्रजातन्त्रका पक्षमा चेतना जगाउने नै भएको छ । जवकि म एउटा संगीतको साधक हुँ र राजनीतिक नेतृत्वप्रतिको अविश्वासले मेरा गीतहरुले झञ्झावत ल्याएका थिए र मेरा देशबासीहरु प्रजातन्त्रका पक्षमा तरङ्गित भएका थिए ।

असफल मुलुक भनेको कस्तो हुन्छ ? एउटा जिज्ञासा मनमा उठ्थ्यो र फेरि लाग्थ्यो नेपाल त कुनै पनि हालतमा असफल मुलुक हुने छैन । एउटा मुलुक असफल हुनका लागि त्यहाँको माटोको दोष हुँदैन, त्यहाँको पानीको , हावाको, चराको, पशुपन्छीको, आकाशको , पहाडको , समुद्रको , नदीको र अझ ती निरपराध जनताको पनि दोष हुँदैन तर दोष त तिनको हुन्छ जसले मुलुकको साँचो हातमा लिएर बसेका हुन्छन् । मुलुकमा गर्नु पर्ने काम नगरी नगर्नुपर्ने कामहरु गरिरहने ती सत्तामा रहेका वा उत्तरदायित्व लिएका व्यक्तिहरुको कारणले मुलुकले असफल हुनु परेको हुन्छ ।

आफू पनि केही गर्न सक्दैनन् अनि अरुका लागि गजधम्म बाटो रोकेर बसेका हुन्छन् । ती आफूसँग केही पनि क्षमता छैन भन्ने कुरामा विश्वास गर्दैनन् तर आफूलाई नै यो विश्वको सबैभन्दा जान्ने ठान्दछन् । मुलुकलाई एउटा गलत बाटोबाट अर्को गलत बाटोमा यसरी घिसार्दै लैजान्छन् कि मुलुक फेरि कतैबाट फर्कन पनि सक्दैन । भीरको मुखमा लगेर ती आफू सके भाग्छन् , नसके आफूसँग मुलुकलाई नै भीरबाट लडाउँछन् जस्तो कि कुनै गाडी चालकले मध्यरातमा भीरबाट गाडी खसाउँछ । कहिले ऊ बाँच्छ या सबै यात्रुहरुलाई आफूसँगै मार्छ । त्यस्तो दुर्घटना भएका गाडीको र यात्रुहरुको दुखान्त कथाको पछिल्तिर त्यस्तै कथा हुन्छ चालकले किन त्यो गाडी सबै यात्रुले नचलाउने आराम गर्ने भन्दाभन्दै चलाएको हुन्छ ।

हाम्रो मुलुक कतै असफल राष्ट्रको रुपमा इंगित हुन पो अगाडि बढेको हो कि ? सरकारप्रति जनताको आस्था छैन । सरकारको आफूलाई उत्पत्ति गर्ने व्यवस्थापिकाप्रति विश्वास छैन न्यायपालिकाले दिने न्याय भनेको सरकारले तत्काल कार्यान्वयन गर्नको लागि हो । सरकारको काम भनेको संविधानका छिद्रबाट कसरी पस्ने र सरकारका कामहरुको अनावश्यक गति कसरी बढाउने भन्नेमा देखिन्छ । सरकारको माध्यमबाट जनताका सेवाका लागि गठित संवैधानिक आयोगहरुप्रति जनतामा विश्वास देखिँदैन । संविधानवादको विरुद्धमा को भन्दा को बढी लाग्न सक्छ भनेर सत्तारुढ दलको प्रतिस्पर्धा छ , मुख्य विपक्षी आफूले गरेका अवैधानिक कामहरुको रक्षामा कसिएर लागेको छ । भ्रष्टाचार, अत्याचार र निरंकुशताको विरुद्ध बोल्नुभन्दा सत्ताको होडमा राजनीतिज्ञहरु लागेको देखिन्छ । हो त्यहीँनेर उनीहरुको कमजोरी पत्ता लगाएर मुलुक असफलतातिर उन्मुख देखिन्छ ।

कुरो अहिलेको गठबन्धन दलहरुको सत्तापक्ष, संसदमा सबैभन्दा ठुलो दल भएर पनि आफ्नै हठले प्रतिपक्षमा बस्न बाध्य भएको नेकपा एमाले र जहिले पनि सत्ता परिवर्तनका लागि कारक बन्ने तर अस्थिर चरित्रको नेकपा माओबादी केन्द्रकै कुरा हो । कोही पनि दूधले नुहाएको देखिँदैन । झन प्रतिनिधि सभा पुनस्र्थापना भएपछि सत्तारुढ दलहरु झन कुहिरोका काग भएका छन् । किनभने कम्युनिस्टले प्रजातन्त्र हाँक्न नसकेको देखिन्छ । यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दोष अलि बढी होला तर उनलाई यो अवस्थासम्म जानका लागि उत्तेजित बनाउने र शक्ति सञ्चयका लागि मौका दिने तिनै हुन् जो अहिले पनि प्रधानमन्त्रीलाई जे अवैधानिक कामहरु गर्न पनि बाध्य पार्न सक्छन्, असहयोग गर्न सक्छन् , अनि न त सुशासनको विकल्प दिन सक्छन्, न पुनस्र्थापना भएको प्रतिनिधि सभालाई सक्रिय बनाएर संसद नै प्रजातन्त्रको मुख्य थलो हो भन्ने प्रमाणित गर्छन् ।
सत्तापक्षीय दल नेपाली काँग्रेस एमाले, एकीकृत समाजवादी र माओबादी केन्द्रभन्दा तुलनात्मकरुपमा संयम देखिए पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो भन्ने संसदवादको सिद्धान्तलाई क्रियान्वयन गर्न र हस्तक्षेपकारी भूमिका निर्बाह गर्न सकेको पाइएन । प्रजातन्त्र भनेको प्रजातन्त्रका विश्वव्यापी सिद्धान्तप्रति प्रतिबद्ध सहमति, सम्झौता र संयमपूर्वक खेलिने विधिको खेल हो र यसमा त्यागको मात्रा धेरै हुनुपर्छ किनभने जनताले जस्तोसुकै अवस्थामा पनि जनताको पक्षमा उभिनका लागि मतदान गरेर पठाएका हुन्छन् चाहे सत्तापक्ष होस् या विपक्ष होस् । सत्तापक्ष र विपक्षी भनेको संसदमा प्राविधिक कुरा हो प्रजातन्त्रमा किनभने संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु जनताको मतलाई प्रतिनिधित्व गरेका हुन्छन् ।

जब शरीरका विभिन्न अवयवहरु काम गर्न छोड्छन् , अनि शरीर असफल हुन्छ । शरीरमा केही भागहरु अत्यन्त संवेदनशील हुन्छन् । तर कमजोर मानिने अंगहरुले पनि जब काम गर्न छोड्छन् तिनका कारणले पनि शरीर असफल हुन्छ र प्राणीको मृत्यु हुन्छ । राज्य पनि त्यस्तै हो । राज्यका कार्यहरु सबै उत्तिकै संवेदनशील हुन्छन् । तर ती सबैको नियन्त्रण गर्ने काम मस्तिष्क र मुटुले गरेका हुन्छन् । अन्य अवयवहरुको कामले मस्तिष्क र मुटुको चाललाई सहयोग गरेका हुन्छन् ।

मुलुक असफल हुँदा उपिञाहरु सिक्किमलाई भारतमा विलय गराउन लागेका लेन्डुप दोर्जेहरु जस्तै कतै ओत लाग्लान् तर यो मुलुकमा कहिल्यै कसैको दास नभएको इतिहासलाई बचाएर बसेका हामी नेपालीहरुको के हाल होला ? झट्ट हेर्दा नेपाललाई कुनै मुलुकले आफ्नो सीमाभित्र लैजाला भन्ने त नहोला तर मुलुकको सम्पूर्ण अवस्था अरुकै नियन्त्रणमा गएमा के हाल होला ? के अहिलेको अवस्थाले देखाउँदैन र ? मुलुक असफलता तिर उन्मुख छैन त ? छातीमा हात राखेर सोचौँ । हालैको मिलेनियम च्यालेन्ज कर्पोरेसनको सामान्य परियोजना पारित गर्नका लागि भएको सकस,विवाद र अमेरिका अनि चीनको वाकयुद्धले के प्रमाणित गरेको छ त ?

बोल बोल मछली मुखभरि पानी भएको छ कसको –कसको को– को विदेशीसँग कस्तो सम्बन्ध छ भनेर राजनीतिक फाँटमा पारदर्शीरुपमा स्पष्टै छ । अब नेपालमा पनि फेरि वसन्त आन्दोलनको आवश्यकता देखिन्छ जसले मुलुकको प्रजातन्त्र जोगाउन र मुलुकलाई असफलताबाट जोगाउन त्याग सहितको आन्दोलनको तरङ्ग ल्याउन सकून् । अझै पनि समय छ राष्ट्रलाई असफल हुनबाट जोगाउने । त्यो हो विधिको मार्गमा राष्ट्र चलेको प्रत्याभूति दिन सक्नू । राष्ट्र विभिन्न संकेतले देखाएका सूचकहरुले देखाउँछ, गम्भीर अवस्थामा छ, तर राज्य सञचालकहरु आफ्नो बिर्ताजस्तै गरी खेलाँचीका साथ मुलुक चलाई रहेका छन् । सजग र सतर्क नागरिकहरुको कर्तव्य भनेको देश जोगाउनका लागि फेरि पनि त्याग गर्ने हो, सायद निर्वाचनहरुमा गलत व्यक्तिहरुको चयनबाट मुलुकलाई जोगाउने हो ।