
काठमाडौं । तात्कालिन अवस्थामा सामरिक दृष्टिले महत्वपूर्ण मानिने गढी संरक्षणको अभावमा भग्नावशेषमा रुपान्तरण भएका छन् ।
अपवादका सिन्धुलीगढीको उचित संरक्षण र सम्वर्द्धन भए पनि साढे चार सय वर्ष पुरानो सेन वंशावलीमा स्थापना भएको चिसापानी गढीको अवस्था भने बेहाल छ ।
राजधानी नजिकै भएर पनि यसको अवलोकनमा न पर्यटक पुग्छन्, न संरक्षणमा कसैको दृष्टि नै पुगेको छ ।
हेटौंडाबाट भिमफेदीबाट २९ किलोमिटरमा उत्तरतर्फ अवस्थित चिसापानी गढी वि.सं. १६२० मा सेन बंशका राजा लोहान सेनले स्थापना गरेको इतिहास छ ।
समुद्र सतहबाट ९०० देखि १४०० मिटरसम्मको उचाइमा पर्ने गढीमा किल्लाको चौडाइ ३६ र गहिराइ २२ फिट छ । त्यहाँ लगाइएको गारोको मोटाइ ८ फिट रहेको छ ।
राणा कालसम्म प्रयोगमा आइरहेको यो गढीको विक्रम संवत १८६४ मा पुनर्निर्माण गरिएको थियो । सेन राज्यको सिमाना सुरक्षाको लागि गढीको निर्माण गरिएको थियो । गढीसँगै रहेको जेल पनि अहिले भग्नावशेषको अवस्थामा छ ।
गढीको अवस्थाको बारेमा त्यहाँ राखिएको झुत्रो राष्ट्रिय झण्डाले पनि झल्काउँछ । स्थानीय पुजारी मानबहादुर पौडलका अनुसार राणाकालको मध्य समयमा १२ भैरवमध्ये बटुक भैरव स्थापना गरियो ।
ललितपुरको लगनखेलमा रहेको बटुक भैरवको मुर्ति चिसापानी गढीमा रहेको भैरवको दर्शन गराइ स्थापना गरिएको उहाँको भनाइ छ । बटुव भैरवलाई ललितपुर लगिएको ३३ वर्ष भएको उहाँ बताउनुहुन्छ ।
पुजारी पौडेलका अनुसार पूजाआजा गर्दा विधिमा त्रुटी भएमा किल्लाको वरिपरि बाघ आएर कराएर घुम्ने गरेको छ । तर, पूजा विधि सच्याएपछि भने बाघ आफैँ जंगलतिर हराउने गरेको छ ।
गढीमा रहेको सबैभन्दा ठूलो काली तोप र लाली तोपमा रहस्यमय शक्तिको बास रहेको ऐतिहासिक मान्यता छ । सेनाले चित्लाङसम्म तानेर लगेको तोप राति पुनः चिसापानी गढीमाम पुगेकाले पनि तोपमा दैवी शक्ति रहेको पुजारीको भनाइ ।
बटुक भैरवको मुर्तिपछाडि एउटा डेढ फिट गोलाई र ३ फिट उचाइ रहेको पितलको तोप छ । जुन तोप श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको निजी तोप भएको पुजारीले जानकारी दिनुभयो ।
साथै यसै स्थानमा लडाइको समयमा प्रयोग भएका तोपको गोला पनी छर्पस्ट देख्न सकिन्छ । यहाँ विभिन्न ठाउँमा दाग्ने ६ तोप छन् । यहाँ भएको काली तोप रक्सौल, लाली तोप पोखरा, अरु दुई पथलैया र बागमती सम्म हान्न मिल्ने अन्य दुई तोप छन् ।
गढिमा रहेको काली तोप र गढी परिसर भित्रको बटुक भैरब मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको पुजारी पौडेलले जानकारी दिनुभयो । तोपको थर्काइले गर्भवती महिलाको गर्भपतन भएपछि महिला प्रवेशमा रोक लगाइएको उहाँको भनाइ छ ।
मुलुककै जीवन्त इतिहास बोकेको गढी संकटापन्न अवस्थामा पुग्दा समेत राज्यका तीनैतहको ध्यान नजानु विडम्बना हो । तराई र पहाडका आन्तरिक पर्यटक जोड्ने तीर्थका रूपमा यो ठाउँको विकास गरिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्