१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनमय कपिलवस्तु : २७ दल सहभागी हुँदै, ४६८ मतदान केन्द्र

सबैमा जित्ने एमालेकाे दाबी, गठबन्धनलाई उम्मेदवार छान्नै सकस

169
Shares

कपिलवस्तु । जिल्लामा स्थानीय तहको निर्वाचनको तयारीस्वरूप राजनीतिक दलहरू तयारीमा होमिएका छन् ।

निर्वाचनमा आफ्नो दललाई जिताउन ठूला दलमात्र नभएर साना दलहरू पनि उम्मेदवार छनोटदेखि भेला प्रशिक्षणको दौडधुपमा छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका दश पालिकामध्ये ६ पालिकामा नेपाली कांग्रेस, दुई पालिकामा नेकपा एमाले र दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पारेका थिए ।

गत निर्वाचनलाई हेर्दा र हाल गठबन्धन भएमा सत्तापक्षका दलहरूले अधिकतम पालिकामा जित्न सक्ने सम्भावना देखिन्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कपिलवस्तुमा हाल उम्मेदवार छनोटको काम गरिसकेको छ । पालिकाहरूले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेका छन् । गठबन्धन भएमा जिल्लाका सबै पालिमा एमालेले सकस हुने आँकलन गर्न सकिन्छ ।

गठबन्धन दलहरूले नगरबाट उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । सबै दलले नगरमा आकांक्षा राखेकाले पनि उम्मेदवार टुंग्याउन सकस भएको कांग्रेस जिल्ला सभापति अब्दुल कलाम बताउनुहुन्छ ।

पालिकाहरू भागभण्डा गरेर भए पनि गठबन्धन गनुपर्ने नेताहरूको भनाइ छ । गएको निर्वाचनमा जिल्लाको शिवराज र विजयनगर गाउँपालिका मात्र जितेको एमालेले यसपटक सबै पालिकामा जित्ने जिल्ला अध्यक्ष डम्बर शर्मा बताउनुहुन्छ ।

यता नेकपा (माओवादी केन्द्र)ले पनि गाउँ–गाउँ पुगेर निर्वाचनको तयारी गरिरहेको छ । कतिपय पालिकामा उम्मेदवार नाम चर्चामा आए पनि गठबन्धनमा छलफल पछि मात्र उम्मेदवार छनोट गरिने पार्टीका जिल्ला अध्यक्ष विष्णु शाहको भनाइ छ ।

४ सय ६८ मतदान केन्द्र रहेको कपिलवस्तुबाट २१ साना र ६ ठूला दल गरी कुल २७ दल निर्वाचनमा सहभागी हुँदैछन् ।