
परासी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह निर्वाचनमा १७ जिल्लामा मात्र चुनाव चिन्हबाट चुनाव लड्ने बताउनुभएको छ ।
ईमेजखबरसँगको कुराकानीमा अध्यक्ष त्रिपाठीले १७ जिल्लामा भने आफ्नै चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी हुने बताउनुभयो । अन्य जिल्लामा स्वतन्त्रबाट उम्मेदवारी दिने उहाँको भनाइ छ ।
‘१७ जिल्लाबाट आफ्नै चिन्हबाट चुनाव लड्छौं,’ उहाँले भन्नुभयो, ‘अन्य जिल्लाबाट स्वतन्त्रबाट उमेदवारी दिन्छौं ।’
निर्वाचनमा अहिलेसम्म तालमेल गर्ने सोच नबनाएको भन्दै त्रिपाठीले उपयुक्त अवस्था आएमा तालमेल हुनसक्ने बताउनुभयो ।
एमालेको सूर्य चुनाव चिन्हबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित त्रिपाठीले नयाँ पार्टी खोल्नुभएको हो । दल दर्तापछि उहाँको पार्टीले १७ जिल्लाको विवरण मात्र निर्वाचन आयोगमा बुझाएको छ ।
स्थानीय तह निर्वाचनका लागि अन्य दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाए पनि आफ्नै जिल्लामा समेत उहाँले उम्मेदवार टुंग्याउनुभएको छैन ।
अध्यक्ष त्रिपाठीले स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने टिप्पणी गर्नुभयो । यद्यपि अरु पार्टीले दलकै आधारमा प्रतिस्पर्धा गर्न लागे पनि आफू पनि बाध्य भएको उहाँको भनाइ छ ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका त्रिपाठीले स्थानीय तहमा सबैभन्दा बढी स्वास्थ्य र कृषि क्षेत्रमा रकम दुरूपयोग भएको बताउनुभयो ।
चुनाव घोषणा भइसकेपछि स्थानीय तहहरूले कार्यकर्ता पोस्ने योजना ल्याउँलै वितरणमुखी काम गर्न थालेको उहाँको आरोप छ ।
स्थानीय तहमा भएको आर्थिक अनियमिता र भ्रष्टचार अन्त्यका लागि पार्टीले नारा बनाएर चुनावमा जाने त्रिपाठीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्