१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र गरिखाने वर्गका लागि राहत दिन एमनेस्टी इन्टरनेसनलको अपील


0
Shares

काठमाडौं, चैत्र १३ । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न अपील गरेको छ ।

बिहीबार विज्ञप्ति निकाली एम्नेष्टीले कोरोना संक्रमित बिरामीसँग शुरुमा भेट गर्ने स्वास्थ्यकर्मीले नै भएकाले उनीहरुलाई आवश्यक सुरक्षात्मक उपकरण उपलब्ध गराउन आग्रह गरेको हो ।

एमनेस्टीले विज्ञप्तिमा भनेको छ, ‘उनीहरु र उनीहरूको परिवारलाई उचित प्रशिक्षण र मनोवैज्ञानिक सहयोग दिएर स्वास्थ्यकर्मीहरु सुरक्षित रहेको सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’

अफगानिस्तान, बंगलादेश, भारत, नेपाल र पाकिस्तानका स्वास्थ्यकर्मीले आफूहरुका लागि सुरक्षा प्रदान गर्ने उपकरणको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेकामा पनि एमनेस्टीले सरोकार व्यक्त गरेको छ ।

यसैगरी दैनिक रुपमा कमाई खानुपर्ने वर्गका लागि प्याकेज ल्याउन आग्रह गर्दै एमनेस्टी इन्टरनेसनलले भनेको छ, ‘भोकमरी र संक्रमणमध्ये एउटा छनौट गर्न कसैलाई पनि बाध्य बनाउनु हुँदैन ।’

भारत, श्रीलंका र पाकिस्तानले श्रमिकका लागि आर्थिक प्रोत्साहन प्याकेज घोषणा गरे पनि ती उद्योग लक्षित मात्र भएकाले अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरुलाई समेटिने गरी प्याकेज ल्याउन उसले आग्रह गरेको हो ।

एमनेस्टीले सडक विक्रेता, सरसफाइ कामदार, चालक, निर्माणकर्मी, सफा गर्ने, चिया रोप्ने कामदार, भरिया, कुक र घरेलु कामदारहरु लकडाउन लागू हुने बित्तिकै समस्यामा परेको उल्लेख गरेको छ ।

यस्तै, शरणार्थी र आन्तरिक रुपमा विस्थापित मानिसहरुको पनि ख्याल गर्न एमनेस्टीले सरकारहरुको ध्यानाकर्षण गराएको छ ।

कोरोना भइरसबारे सही सूचना समयमै दिन आग्रह गर्दै एमनेस्टीले सही सूचनाको अभावमा निरक्षर र ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू प्रभावित हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।