१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपुरमा ‘नो भोट’ अभियान


585
Shares

नवलपुर । जिल्लाका विभिन्न पालिकाका स्थानीयले ‘नो भोट’ चलाएका छन् ।

लामो समयसम्म आफूहरूले जोतभोग गर्दै आएको जमिनको पुर्जा हालसम्म नपाएको भन्दै देवचुली र कावासोती नगरपालिकाका सुकुम्बासी र भुमिहीनले ‘नो भोट अभियान’ चलाएका हुन् ।

२०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् । आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै लालपुर्जा नपाउँदासम्म चुनाव बहिस्कार गर्ने र नेतालाई गाउँ पस्न नदिने बताएका हुन् ।

गएको निर्वाचनमा पनि आफूहरूलाई आश्वासन मात्र देखाइएको उनीहरूको गुनासो छ ।

आफ्ना माग सम्बोधन नभएपछि बाध्य भएर चुनाव बहिस्कारको अभियान थालेको सुकुम्बासी तथा भुमिहीन संघर्ष समिति देवचुली वडा नम्बर ४ र ५ का संयोजक गणेश गुरुङ बताउनुहुन्छ ।

जिल्लामा ३३ हजार ६ सय ३५ जनाले पुर्जा प्राप्तिको लागि निवेदन दिएका छन् । अहिले स्थानीय तहसँगको सहकार्यमा नापनक्सा पनि भएको छ ।

तर, सरकार परिवर्तनसँगै भुमीसम्बन्धी समस्या समाधान आयोग परिवर्तन हुँदा लालपुर्जाको आशमा बसेका उनीहरूमा निराशा छाएको छ ।

लालपुर्जा नहुँदा जीविकोपार्जन र अन्य काममा समेत समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।

चुनावमा भोटकै लागि प्रदान गरिने झुटा आस्वासनले अहिले नवलपुरका जनताहरू आजित छन् । पहिले गरेका बाचा पूरा गरे मात्र आफूहरूले चुनावमा भोट दिने उनीहरूको अडान छ ।