१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु : सोहेल खान


5.174k
Shares

काठमाडौं । बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।

बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने बताउँदै उनले शो हेर्न आउन सबैलाई अनुरोध गरे ।

‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो ।

जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने आयोजकले जनाएको छ । सुरुमा नेपाली कलाकारको प्रस्तुति हुनेछ भने बेलुकी साढे ७ बजेबाट मात्र सलमान खानका प्रस्तुति रहनेछ ।